एपीएफ क्लब तिलोत्तमा गोल्डकपको फाइनलमा

Shares

बुटवल। रुपन्देहीमा जारी २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले फाइनलमा स्थान बनाएको छ। बुधबार भएको सेमिफाइनल खेलमा एपीएफले संकटा एफसीलाई १-० गोल अन्तरले हरायो र फाइनलमा पुग्यो।

यो सिजनमा एपीएफले खेलेका तीन खेलमा दुई खेलमा जित हासिल गरेको छ। सात महिनाअघि बागमती गोल्डकपमा संकटा एफसीलाई हराएको एपीएफले केपी ओली कपमा भने संकटा एफसीसँग हार भोगेको थियो। तिलोत्तमा गोल्डकपमा भने एपीएफले त्यो हारको बदला लिएको हो।

बुटवल उपमहानगरपालिकाको संरक्षणमा भएको यो प्रतियोगिताको मुख्य प्रायोजक यशोदा फुड्स र त्रिमूर्ति इंडस्ट्रिज छन्। प्रदेश खेलकुद परिषद् लुम्बिनीको सहयोगमा देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा सेमिफाइनल खेल भएको थियो।

खेलको सुरुदेखि एपीएफ आक्रामक खेल्यो। १२औं मिनेटमा युवराज खड्कासहित तीन खेलाडीको प्रयासलाई संकटा एफसीका गोलरक्षक विशाल केसीले बचाए। ३०औं मिनेटमा हरि कार्कीले पाएको अवसर सदुपयोग गर्न सकेनन्। पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

५८औं मिनेटमा एपीएफ १० खेलाडीमा सीमित भयो। संकटाका सृजनराज गौतमलाई लडाएपछि एपीएफका विपन श्रेष्ठले दोस्रो पहेँलो कार्ड पाउँदै रातो कार्ड पाए। खेलको इन्जुरी समयमा युवराज खड्काले निर्णायक गोल गर्दै एपीएफलाई फाइनलमा पुर्‍याए। उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

You may also like