बुटवल। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी सदस्य पूजा महतो र कविता कुँवरलाई एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको छ। एक्स्ट्राटेकले उनीहरूलाई आगामी दुई वर्षका लागि ब्राण्ड एम्बेसडरको रूपमा चयन गरेको हो।
महतो र एक्स्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुँवरबीच आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन मैदानमा आयोजित एक कार्यक्रममा सम्झौता सम्पन्न भएको छ। दुई वर्षका लागि नियुक्त गरिए पनि सम्झौतासम्बन्धी आर्थिक विवरण भने खुलाइएको छैन। तर, मासिक रूपमा महतो र कुँवरलाई आर्थिक सहयोग उपलब्ध गराइनेछ।

एक्स्ट्राटेकका प्रबन्ध निर्देशक तथा सञ्चालक विनोद कुँवरले नेपाली महिला क्रिकेटको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै खेलाडीहरूलाई खेलमै केन्द्रित हुन सहयोग पुर्याउने उद्देश्यले ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको बताए। उनले महिला क्रिकेट खेलाडीहरूले निरन्तर अवसर पाएमा नेपाली क्रिकेटले टेस्ट राष्ट्रको स्तरमा पुग्ने विश्वास व्यक्त गरे।
निर्देशक कुँवरले खेलाडीहरूलाई खेलमार्फत जीवनयापन गर्न सकिन्छ भन्ने संदेश दिन र उनीहरूको मनोबल उच्च बनाउन यस्तो पहल गरिएको उल्लेख गरे। उनले ब्राण्ड एम्बेसडर कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भविष्यमा थप खेलाडीहरूलाई समेट्ने योजना रहेको बताए।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले पनि क्यानकै प्रोटोकल अन्तर्गत दुई महिला खेलाडीलाई एक्स्ट्राटेकले ब्राण्ड एम्बेसडर बनाएको उल्लेख गरे। उनले निजी लगानीमा स्तरीय क्रिकेट मैदान निर्माण गर्नु ऐतिहासिक कार्य भएको बताउँदै, एक्स्ट्राटेकले खेलाडीहरूका लागि थप अवसर सिर्जना गरेर नेपाली क्रिकेटमा नयाँ उत्साह भरेको बताए।
ब्राण्ड एम्बेसडर नियुक्त भएकी पूजा महतोले एक्स्ट्राटेक ओवल मैदानमा भएको यु-१९ टिम छनोटको क्लोज क्याम्प आफ्नो खेल जीवनको स्वर्णिम क्षण रहेको बताइन्। उनले ब्राण्ड एम्बेसडरको रूपमा नियुक्ति पाउनु आफ्नो करियरका लागि ठूलो प्रेरणा भएको भन्दै खुशी व्यक्त गरिन्।
“एक्स्ट्राटेकसँग सम्झौता गर्दा धेरै खुसी छु। यस्तो सहयोगले हामी खेलाडीलाई थप हौसला प्रदान गर्छ र नेपालका लागि थप सफलता हासिल गर्न प्रेरित गर्छ,” महतोले भनिन्।
क्रिकेटर कविता कुँवरले पनि एक्स्ट्राटेकसँगको सहकार्यले आफूलाई अझ राम्रो प्रदर्शन गर्न उत्प्रेरित गरेको बताइन्। “मैदानमा पहिलो पटक आउँदा नै निकै खुशी लागेको थियो। अब एक्स्ट्राटेकसँगको सम्बन्धले अझ राम्रो गर्ने प्रेरणा मिलेको छ,” उनले भनिन्।
यसअघि एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ड क्रिकेट खेलाडी तथा पुरुष यु-१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई पनि ब्राण्ड एम्बेसडर नियुक्त गरिसकेको छ।
यो ब्राण्ड एम्बेसडर कार्यक्रमले नेपाली महिला क्रिकेट खेलाडीहरूलाई प्रोत्साहित गर्दै देशको क्रिकेट स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।