नवरात्रको चौथो दिन आज देवी कुष्माण्डाको पूजाआराधना गरिँदै

by समतल अनलाइन
27Shares

काठमाडौँ । बडादशैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन दशैँघर तथा पूजाकोठामा देवी कुष्माण्डाको पूजा गरी भक्तजनले सुख, शान्ति, समृद्धि र शक्तिको कामना गर्ने धार्मिक परम्परा छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा पूजामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टाको आराधना गरिसकिएको छ। आज चौथो दिन कुष्माण्डा देवीको पूजा गरिन्छ।

धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका ताप तथा दुःखबाट भक्तजनलाई मुक्ति प्रदान गर्छिन्। शरणमा आएका भक्तका कष्ट हटाई सुख र कल्याण प्रदान गर्ने देवीका रूपमा कुष्माण्डालाई पूजाआराधना गर्ने परम्परा रहिआएको छ। विभिन्न पुराणमा देवी कुष्माण्डाका स्वरूप र उनले धारण गर्ने पात्र तथा आयुधबारे उल्लेख गरिएको छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवीका स्तोत्र तथा स्तुतिहरू पाठ गर्ने चलन छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष आराधना गरी शक्ति, ऐश्वर्य, विद्या र समृद्धिको कामना गर्छन्।

दुर्गा कवचअनुसार नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा महानवमीसम्म देवीको प्रतीकका रूपमा नौ कन्याको पूजा गर्ने धार्मिक विधानसमेत छ। शास्त्रीय मान्यताअनुसार दुई वर्षमाथिका कन्यालाई विधिपूर्वक पूजा गरिन्छ। त्यसैगरी बडादशैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्परा छ भने महाअष्टमी र महानवमीका दिन विभिन्न शक्तिपीठ, कोत तथा दशैँघरमा विशेष पूजा गरिन्छ। बलिपूजा गर्ने परम्परा भएका स्थानमा ती दिन बलिसहित पूजा गर्ने चलन पनि छ।

दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ। दुर्गा भवानीको आराधनाले अन्याय, अधर्म र नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्ने प्रेरणा दिने धार्मिक विश्वास छ। नवरात्र तथा दशैँ पर्वले श्रद्धा, आस्था र सद्भावको सन्देश प्रवाह गर्ने विश्वाससमेत गरिन्छ।

You may also like