प्रधानमन्त्री बालेन शाह मंसिर ७ गते भारत भ्रमणमा जाने तयारी

by समतल अनलाइन
31Shares

बुटवल ।प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारी भएको छ। उच्च सरकारी स्रोतका अनुसार नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढाइएको हो। यद्यपि, भ्रमणको मिति नेपाल र भारत दुवै पक्षबाट औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ।

यसअघि भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ सम्म हुन सक्ने जनाएका थिए। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार भ्रमणका क्रममा दुई देशबीच रेल तथा यातायात सम्पर्क विस्तार, ऊर्जा, व्यापार, पूर्वाधार विकास र बाढीपछिको पुनर्निर्माणलगायत विषयमा छलफल हुने सम्भावना छ।

भ्रमणका क्रममा रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग तथा जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनको विषयले प्राथमिकता पाउन सक्ने बताइएको छ। त्यस्तै, ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् आयोजना पनि छलफलका सम्भावित विषय हुन्। यी दुवै आयोजनाको विकासमा भारतको सरकारी कम्पनी एनएचपीसी संलग्न छ।

सीमा पूर्वाधार विकासअन्तर्गत दोधारा–चाँदनी एकीकृत जाँच चौकी, महाकाली नदीमा मोटरेबल पुल र भैरहवा एकीकृत जाँच चौकीका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ। यसैगरी, भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतले सहयोग गर्ने विषय पनि सम्भावित कार्यसूचीमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यद्यपि, यी परियोजनासम्बन्धी सम्झौता हुने वा भारतले सहयोग घोषणा गर्ने विषयमा अहिलेसम्म औपचारिक पुष्टि भएको छैन।

भारतले प्रधानमन्त्री शाहलाई गत जुलाईमै औपचारिक भ्रमणको निमन्त्रणा दिएको थियो। त्यसयता दुवै देशका अधिकारीबीच भ्रमणको मिति र कार्यसूचीबारे छलफल हुँदै आएको सरकारी स्रोतले जनाएको छ।

यसअघि असोज २३ गते परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि आवश्यक तयारी भइरहेको तर मिति निश्चित भइनसकेको जानकारी दिएको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने बताएका थिए।

यसैबीच, अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन्। ती भेटमा आर्थिक सहकार्य, ऊर्जा र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको भ्रमण गरेका थिए। त्यसैले प्रस्तावित भारत भ्रमण प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश यात्रा नभए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता तथा दुई देशबीच हुन सक्ने सम्झौताबारे भने औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ।

You may also like