बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका, मुर्गियामा फागुन १९ देखि २८ गतेसम्म सुनगाभा सैनामैना गोल्ड कप आयोजना हुने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ। प्रतियोगिता सैनामैना नगरपालिकाको संरक्षकत्व तथा मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा सञ्चालन हुनेछ। खेल प्रवर्द्धन तथा खेलाडीलाई प्लेटफर्म दिने उद्देश्यले आयोजना गरिन लागेको प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय टिम र एउटा विदेशी टिम सहित १० टिम सहभागी हुनेछन्। उद्घाटन खेल आयोजक मुर्गिया फुटबल क्लब र गोर्खा ब्याईज क्लब बीच हुनेछ।
विजेता टिमले नगद ७ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ४ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउनेछ। विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ। प्रत्येक टिममा ५ जना विदेशी खेलाडी खेल्न पाउने व्यवस्था छ। आयोजक टिमले पनि ५ जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।

मुख्य प्रायोजक सुनगाभा पब्लिक स्कुल रहेको प्रतियोगितामा सैनामैना नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ। प्रतियोगिता सम्पन्न गर्न अनुमानित ६० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।
८ करोड लागतमा निर्माणाधीन सैनामैना फुटबल रंगशाला ७०% पूरा भइसकेको छ। दर्शकका लागि १,००० रुपैयाँको सिजनल टिकट व्यवस्था गरिएको छ, जसले सम्पूर्ण खेलहरू हेर्न पाइनेछ। ७० वर्षमाथि तथा अपांगता भएका दर्शकहरूका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ। पत्रकार सम्मेलनको सहजिकरण कृष्ण भण्डारीले गरेका थिए।