बुटवलमा जारी प्रथम लखन कप: देवदह ब्याईज क्लबको शानदार जित

by समतल अनलाइन

बुटवल ।बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गत शुक्रबार भएको खेलमा देवदह ब्याईज क्लब विजयी भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा भएको खेलमा देवदहले चिडिया ब्याईज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

सिद्घेश्वर खेल मैदानमा सम्पन्न खेलको तेस्रो मिनेटमै देवदह ब्याईजका सुरज चौधरीले डिबक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाए। चाँडै नै, पाँचौं मिनेटमा मनिष पुनले सुरज चौधरीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफको अन्त्यतिर, चिडिया ब्याईजका सुजलमान घलेले डिबक्सभित्रबाट गरेको प्रहारलाई देवदहका गोलकिपरले उत्कृष्ट बचाउ गरे। दोस्रो हाफमा, देवदहका दिपेश रानाले निर बहादुर थापाको क्रसमा गोल गर्दै टिमको जित सुनिश्चित गरे।

उत्कृष्ट प्रदर्शन गरेका सुरज चौधरी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।

शनिबारको खेलमा रामनगर युवा परिवार र योग ब्याईज एफसी आमनेसामने हुनेछन्। फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

 
 
  
 

You may also like