बुटवल । एक सय बेड सञ्चालन अनुमति रहेको रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो सेवा र सुविधा विस्तार गर्दै लगेको छ । यसैक्रममा अस्पतालले बुटवलमा रहेको वरदान आईभिएफसँग उपचार सम्झौता गरेको हो ।
यो सम्झौतासँगै अब वरदानमार्फत आईभिएफ सेवा लिएका सेवाग्राहीहरुले बुटवल हस्पिटल प्रा.लि.मा प्रसूती सेवा लिनेछन् । निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र बन्दै गएका आइभिएफबाट आउने सेवाग्राहीका लागि पनि बुटवल हस्पिटल पहिलो रोजाइ बन्दै गएको छ । अस्पतालको भौतिक संरचना दक्ष जनशक्ति र अत्याधुनिक उपकरणका कारण बुटवल हस्पिटल प्रा.लि. सेवाग्राहीहरूको रोजाइमा परेको हो ।
बुटवलमा निकै सफल रहेको वरदान आइभीएफसँग सम्झौता भएसँगै दुवै संस्थाबीचको सहकार्यले सेवाग्राहीका लागि सहज भएको छ ।
सम्झौतापत्रमा बुटवल हस्पिटल प्रा.लि.का जनरल म्यानेजर देवेश कर्ण र वरदानका तर्फबाट डाइरेक्टर सबिना सिमखडाले हस्ताक्षर गरेका छन् । सो अवसरमा बुटवल हस्पिटल प्रा.लि.का जनरल म्यानेजर कर्णले बुटवलमा आइभिएफमार्फत सेवा लिएका सेवाग्राहीहरुलाई अब प्रसूती सेवाका लागि अन्यत्र जान नपर्ने बताए । उनले आमा र बच्चा दुवैका लागि भरपर्दो सुविधासम्पन्न सेवा बुटवल हस्पिटलले प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वरदानका डाइरेक्टर सिमखडाले बुटवलमा सबै हिसाबले उपयुक्त अस्पताल बुटवल हस्पिटल नै भएकोले सम्झौता गरिएको बताए । निसन्तान दम्पतिहरूले आइभिएफ सेवा लिन यसअघि भारत र अन्य शहर जानुपर्ने भए पनि अहिले बुटवलमै यो सेवा सुरु भएको छ ।