बुटवल । बुटवल उपमहानगरपालिकाले ट्राफिक चोकसहित मुख्य चोकहरूमा दोस्रो चरणको हाईमास्ट लाइट जडान कार्य अघि बढाएको छ। बुधबार बुटवलको ट्राफिक चोकमा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले संयुक्त रूपमा हाईमास्ट लाइट जडान कार्यको शिलान्यास गरेका हुन्।
सो अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई उज्यालो, सुरक्षित र सुन्दर शहरको रूपमा विकास गर्ने उद्देश्य अनुरूप यो पहल गरिएको बताए। उनका अनुसार, गत आर्थिक वर्षमा २३ स्थानमा हाईमास्ट लाइट जडान गरिएको थियो भने चालु आर्थिक वर्षको पहिलो चरणमा ३१ र दोस्रो चरणमा १७ स्थानमा हाईमास्ट लाइट जडान गरिनेछ।
राजमार्ग चौराहा–गोलपार्क–चिडियाखोला सडक विस्तार कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै उनले मुख्य चोकहरूमा हाईमास्ट लाइट जडानपछि बुटवललाई अझ उज्यालो र सुरक्षित शहरका रूपमा परिचित गराउने विश्वास व्यक्त गरे।
यससँगै उपमहानगरपालिकाले डिजिटल विज्ञापन बोर्ड र फ्ल्याग मास्ट लाइट जडान कार्यसमेत अघि बढाएको छ। उपप्रमुख अर्यालका अनुसार, डिजिटल विज्ञापनबाट संकलित आम्दानी हाईमास्ट तथा स्ट्रिट लाइटको महसुल तिर्न उपयोग गरिनेछ।
दोस्रो चरणको हाईमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडानका लागि उपमहानगरपालिकाले ४ करोड ४३ लाख ७९ हजार ३९१ रुपैयाँमा त्रिसन्ध्या–सेफ स्टील्स जेभीसँग सम्झौता गरेको छ। सम्झौताअनुसार, निर्माण कार्य २०८२ जेठ ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ।