बुटवलमा सामूहिक इहि (बेल विवाह) सुरु

by समतल अनलाइन

बुटवल। नेवा सेवा समिति बुटवलको आयोजनामा भुपू सैनिक देविनगरमा दुई दिने सामूहिक इहि (बेल विवाह) आज आईतबार बाट सुरु भएको छ। नेवारी परम्पराअनुसार हुने यस विशेष संस्कारको शुभारम्भ नेवारी पुरोहित हरि शरण राजोपाध्यायले विधिवत रूपमा पूजा गरी सुरु गरिएको हो ।

नेवा: सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवार संस्कृतिको संरक्षण र निरन्तरताका लागि सामूहिक इहि कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार, नेवार समुदायको मौलिक पहिचान झल्काउने संस्कारहरूलाई पुस्तान्तरण गर्न यस्ता सामूहिक कार्यक्रमको आयोजना आवश्यक छ।
“हाम्रो परम्परा, धर्म, र संस्कारलाई जीवित राख्न, नयाँ पुस्तालाई यसको महत्व बुझाउन र समाजमा एकता कायम गर्न सामूहिक इहि कार्यक्रमले ठूलो भूमिका खेल्छ। यसले नेवार समुदायका बालबालिकाहरूलाई आफ्नो मौलिक पहिचानबारे जानकारी दिन्छ। यस वर्ष पनि अभिभावकहरूको उत्साहजनक सहभागिता देख्न पाउँदा हामी अत्यन्त हर्षित छौँ।”

उहाँले थप्नुभयो कि २०६५ सालमा सुरु भएको यो कार्यक्रमले आजसम्म १५औँ शृङ्खला पार गरिसकेको छ। नेवार समुदायको संस्कार मात्र नभई अन्य जातजातिका अभिभावकहरूले पनि इहि संस्कारप्रति चासो देखाएको बताउँदै अध्यक्ष श्रेष्ठले परम्पराको निरन्तरताका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा ५१ जना कन्याहरूको इहि संस्कार तथा १५ जनाको व्रतबन्ध सम्पन्न गरिएको छ। नेवार परम्पराअनुसार, कन्याहरूको विवाह बेल संग गराइन्छ, जसलाई जीवनभर अमर रहेको प्रतीक मानिन्छ। यस संस्कारपछि कन्यालाई धार्मिक र सांस्कृतिक रूपमा सशक्त बनाउने विश्वास गरिन्छ।
कार्यक्रमबारे जानकारी दिँदै कोषाध्यक्ष दल प्रसाद श्रेष्ठले भने, “सामूहिक इहि संस्कारले अभिभावकहरूलाई आर्थिक रूपमा सहज मात्र बनाउँदैन, समाजमा एकता र मेलमिलापको भावना पनि विकास गराउँछ।”

संयोजक लिल प्रसाद श्रेष्ठका अनुसार, यस वर्षको इहि कार्यक्रममा स्याङ्जा, गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, नवलपरासी, कपिलवस्तु, नवलपुर लगायत विभिन्न जिल्लाबाट सहभागिता रहेको छ।

अर्की संयोजक निला ध्वजुका अनुसार, यस पटक ३ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूले इहि संस्कारमा भाग लिएका छन्। उनले सामूहिक इहि संस्कारले विशेष गरी विदेशमा बसोबास गर्ने परिवारहरूका लागि पनि सहज भएको बताइन।

सामूहिक इहि संस्कारको पहिलो दिन बिहान ८:३० बजे भुपू सैनिक परिसरबाट सुरु भएको शोभायात्रा नेवा सेवा समिति हुँदै तिनकुने घुमेर पुनः भुपू सैनिक परिसरमा आइपुगेको थियो। शोभायात्रामा परम्परागत भेषभूषामा झाँकीहरू प्रस्तुत गरिएका थिए। नेवारी बाजागाजासहित सहभागी भएका बालबालिकाहरूलाई स्वागत गरेका थिए।

कार्यक्रमलाई सफल बनाउन महिला नेवा समितिको पनि सक्रिय सहभागिता रहेको छ। समितिकी अध्यक्ष तारा श्रेष्ठको नेतृत्वमा सहभागीहरूका लागि खाजा, नास्ता व्यवस्थापन गरिएको छ। उनले कार्यक्रमलाई व्यवस्थित बनाउन अभिभावकहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको बताइन्।

दुई दिने यो कार्यक्रम अन्तर्गत भोलि विशेष पूजापाठसहित इहि संस्कारको दोस्रो चरण सम्पन्न गरिनेछ। आयोजक समितिले सम्पूर्ण अभिभावक तथा समुदायलाई कार्यक्रममा सहभागी भई परम्पराको निरन्तरतामा योगदान दिन आग्रह गरेको छ।

 
 
  
 

You may also like