तिलोत्तमा । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल (नमस्ते एकेडेमी) मा सप्ताहव्यापी खेलकुद कार्यक्रम विशेष समारोहबीच समापन भएको छ। विद्यालयका प्राचार्य डिलबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला विकास समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं प्रमुख अतिथि रहेका थिए।
समारोहमा विद्यार्थीहरूले पीटी प्रदर्शन, लोगो फर्मेशन, नृत्य, गीत, सङ्गीतलगायत कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा तिलोत्तमा नगरपालिका–१३ का वार्ड अध्यक्ष नारायण ढकाल र डा. शान्ता शर्माको विशिष्ट आतिथ्यता थियो।
शिक्षक-अभिभावक फुटसल, म्युजिकल चेयर, बेलुन ब्लास्टलगायत रमाइला खेलकुदका कार्यक्रमले सहभागीहरूलाई उत्साहित बनाएको थियो। कार्यक्रममा विद्यालयका निर्देशक विष्णुप्रसाद भुसाल, डिल्लीनारायण पाण्डेय, पुष्पा कँडेल, श्याम खरेल, डिबि खत्री र अभिभावक प्रतिनिधिहरूले पुरस्कार वितरण गरेका थिए।
खेल सप्ताहमा कक्षा प्ले ग्रुपदेखि १२ सम्मका विद्यार्थीहरूले फुटसल, बास्केटबल, एथलेटिक्स, हाई जम्प, लङ जम्प, क्रिकेट, पजल गेम, टग अफ वार, म्युजिकल चेयरलगायत खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए। विजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
समारोहमा अन्तर्राष्ट्रिय स्तरमा श्रीलंका, भारत, जापान, मलेसिया पुगेर कराँतेमा स्वर्ण र रजत पदक जितेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।
प्रमुख अतिथि उमाकान्त चापागाईंले ब्रिटिस ग्रामर स्कुलले शैक्षिक क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताउँदै, गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले नयाँ सोच र कार्यनीति अपनाएको बताए।
ब्रिटिस ग्रामर स्कुल रुपन्देही ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको विद्यालय हो। यो विद्यालय क्याम्ब्रिज सर्टिफाइड मोफसलको एक मात्र संस्था भएकोले यहाँको शिक्षासँगै अतिरिक्त क्रियाकलाप पनि विश्व बजारसँग मेल खाने खालका रहेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए।