बुटवल । अत्यधिक शीतलहरका कारण नवलपरासीको दुम्किवास-दाउन्ने सडकखण्डमा सवारी सञ्चालनमा अवरोध भएको छ।
गएरातिदेखि परेको शीतलहरले सडक हिलाम्मे र चिप्लो बनेपछि पूर्व–पश्चिम चल्ने सवारी साधनहरू चिप्लिएर रोकिएका हुन्। लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार गएराति साढे १२ बजेपछि दुवैतर्फका सवारी साधनहरू सञ्चालन हुन सकेका थिएनन्।
आज बिहान साढे ४ बजेदेखि केही समयका लागि सवारी साधन दुवैतर्फ सुचारु भए पनि बिहान पौने ७ बजेपछि पुनः दाउन्नेबाट पूर्वतर्फ जाने सवारी साधनहरू सञ्चालनमा रोकावट भएको छ।
“शीतलहरका कारण सडक चिप्लो बनेको छ। सावधानीपूर्वक सवारी चलाउन सबैलाई आग्रह गरेका छौं,” खत्रीले भने। उनका अनुसार दाउन्नेबाट ओरालो लागेपछि शीतलहरका कारण सडक नदेखिने र चिप्लो भएकाले दुर्घटनाको जोखिम उच्च देखिएकाले सवारी साधनहरू दाउन्नेमै रोक्नुपर्ने अवस्था आएको हो।
पश्चिमतर्फ जाने सवारी साधन सञ्चालनमा आए पनि पूर्वतर्फ जाने सवारी साधनहरू अझै अवरुद्ध रहेको ट्राफिक कार्यालयले जनाएको छ।