गुल्मीमा टिपर दुर्घटना, चालकको मृत्यु, एक जना घाइते

by समतल अनलाइन

गुल्मी।गुल्मीको सत्यवती गाउँपालिका-२ पाहादीस्थित कालिगण्डकी करिडोरमा टिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

रिडीबाट गिट्टी लिएर पुर्तिघाटतर्फ जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर गएराति सडकबाट करिब २० मिटर तल खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिएका छन्।

दुर्घटनामा पाल्पा जिल्ला रैनादेवी गाउँपालिका-१ का २४ वर्षीय चालक श्रीराम कुमाल गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा परेर सल्यान जिल्ला बनगाउँ-७ का २३ वर्षीय मोहन जैसी सामान्य घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचारपछि घर फर्किने तयारी भइरहेको छ।

प्रहरीका अनुसार टिपर तीव्र गतिका कारण नियन्त्रण गुमाएर खसेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भुजेलले बताएका छन्।

 
 
  
 

You may also like