सहकारी ठगी प्रकरण : देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

by समतल अनलाइन

पोखरा । जिल्ला अदालत बागलुङले सहकारी ठगी प्रकरणमा पक्राउ देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । हिजो (सोमबार) बयान सकिएपछि आज (मंगलबार) अदालतमा थुनछेक बहस चलेको थियो । बहस सकिएपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

नेपाली बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीको राहदानी रद्द, इन्टरपोलमा रेड कर्नर नोटिस जारी भए पनि उनी डेढ वर्षसम्म फरार रहे । शुक्रबार भारतको नयाँदिल्लीबाट पक्राउ गरी आइतबार बागलुङ पुर्‍याइएको थियो । सहकारी संस्थाका एक हजार ५४३ जना बचतकर्ताको जाहेरीमा जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो ।

सरकारी वकिलको कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दायर गरेको हो । सहकारीको वित्तीय अवस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिइएको हो । सोमबारको बयानमा उनले आफ्नो चलअचल सम्पत्ति लिलाम गरेर भए पनि ऋण तिर्ने बताएका थिए ।

नेपालीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार धरौतीमा छोड्न आदेश दिएको छ । सहकारीपीडितहरूको निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले नेपालीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा समेत मुद्दा रहेकाले थुनछेक बहसका लागि पोखरा ल्याइने भएको छ ।

यस मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए । सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

 
 
  
 

You may also like