संरचना बनिसक्यो प्रदेश हटाउन सकिन्नँ : सभापति देउवा

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना बनिसकेकाले अब हट्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘प्रदेश संरचना र सरकार बनिसक्यो । यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ जबाफदेही बनाउने भन्ने कुरा सोच्नुपर्छ र सुधार गर्नुपर्छ ।’

उनले प्रजातन्त्रलाई अझै मतबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने बताएका छन् । गएको असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संविधान संशोधनलगायत विषयमा सात बुँदे सहमति भएकोतर्फ लक्षित गर्दै सभापति देउवाले लोकतन्त्र बलियो बनाउने गरी संविधानमा सुधार गर्न सकिने बताएका हुन् ।

‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि उहाँले संविधानमा संशोधन गर्ने कुरा भन्नु भएको छ । त्यो चाहिँ प्रजातन्त्रको खिलापमा होइन । प्रजातन्त्रलाई अझै मजबुत बनाउने किसिमले संविधानमा सुधार हुने गरी संविधान संशोधन हुन सक्दछ,’ कांग्रेस कानुन विभागले मंगलबार सानेपामा गरेको संविधानको एक दशक, कार्यान्वयन र चुनौती विषयक अन्तरक्रियामा सभापति देउवाले भने ।

उनले कांग्रेस र एमाले प्रजातन्त्रका लागि लडेको पार्टी भएको बताएका छन् । ‘ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हो । प्रजातन्त्रका लागि हामी विद्यार्थी हुँदादेखि नै लड्दै आएको हो, जेलनेल भोगेको पार्टीहरू हो । त्यसैले प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन ।’

 
 
  
 

You may also like