एनपीएलका आठ मार्की खेलाडीको टिम तय : कति पाए मूल्य ?

by समतल अनलाइन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार घोषित आठ मार्की खेलाडीको आज टिममा अनुबन्धन भएको छ । ८ फ्रेन्चाइज टोलीले आफ्नो मार्की प्लेयर प्राप्त गरेका छन् । हरेक टिमले आफ्नो मार्की खेलाडीलाई न्यूनतम २० लाख रुपैयाँ प्रदान गर्नुपर्ने छ ।

नेपाल क्रिकेट संघ क्यानले पछिल्लो ३-४ वर्षको टी–२० प्रदर्शनलाई आधार मान्दै प्रशिक्षक, छनोट कमिटीको सिफारिसमा आठ मार्की खेलाडी तय गरेको थियो । जसअनुसार शनिबार गोलाप्रथाबाट आठ खेलाडीलाई एउटा–एउटा टिमको भाग लगाइयो । जसमा काठमाडौँको मार्की प्लेयरमा करण केसी बन्दा पोखराको कुशल भुर्तेल बनेका छन् । यी दुई टोली टिम अक्सनमा सर्वाधिक मूल्यमा बिकेका थिए ।

त्यस्तै, कुशल मल्ल चितवनको मार्की खेलाडी बन्दा सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडीका रुपमा रहने छन् । त्यस्तै, जनकपुरको आसिफ शेख बन्दा लुम्बिनीको मार्की प्लेयर कप्तान रोहित पौडेल घोषित भए । त्यस्तै, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बने ।

एनपीएल आगामी ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म हुने कार्यतालिका रहेको छ । यसअघि क्यानले सुरुमा टिमको अक्सन गरेको थियो । त्यसपछि मार्की खेलाडी सार्वजनिक गरेको थियो भने आज खेलाडीको टिममा अनुबन्धन पक्का गरेको हो ।

कुन टोलीको मार्की खेलाडी को ?

काठमाडौँ – करण केसी
पोखरा – कुशल भुर्तेल
चितवन – कुशल मल्ल
विराटनगर – सन्दीप लामिछाने
लुम्बिनी – रोहित पौडेल
जनकपुर – आसिफ शेख
कर्णाली – सोमपाल कामी
सुदूरपश्चिम – दीपेन्द्र सिंह ऐरी

 
 
  
 

You may also like