सशस्त्रमा ९९ इन्स्पेक्टर माग, ७४ मात्रै उत्तीर्ण

काठमाडौं । सशस्त्र प्रहरी बलमा ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग भएकोमा लिखित परीक्षामा ७४ जना मात्र उत्तीर्ण भएका छन् । आरक्षण कोटामा मागभन्दा न्यून उत्तीर्ण भएका छन् । लिखित परीक्षामा खुला र आरक्षण कोटामा गरी कुल तीन सय सात जना सहभागी भएका थिए ।

लोकसेवा आयोगले बिहीबार प्रकाशित गरेको नतिजाअनुसार खुलातर्फ ५४ र आरक्षणतर्फ ४५ कोटा छुट्याइएको थियो । आरक्षणतर्फ पिछडिएको क्षेत्रबाहेक अन्य समूहमा मागभन्दा कम उत्तीर्ण भएका हुन् ।

आठ महिला मागिएकोमा चार जना मात्रै उत्तीर्ण भएका छन् । दलित समुदायका लागि सात कोटा रहेकोमा तीन जना मात्र उत्तीर्ण भए । आदिवासी जनजातितर्फ १३ मा नौ, मधेसीतर्फ ११ मा तीन र अमर तथा अशक्त प्रहरीका सन्तानका लागि छुट्याइएको चार कोटामा एक जना पनि उत्तीर्ण भएनन् ।

यसरी समावेशी कोटातर्फ रिक्त रहेका पदलाई पनि खुलातर्फ जोडेर लोकसेवा आयोगले नतिजा प्रकाशन गरेको छ । त्यति हुँदा पनि ७४ जना मात्र उत्तीर्ण भएका हुन् । समावेशीतर्फ लिखित परीक्षामा सफल हुने सबैले खुलामा पनि नाम निकालेका थिए ।

सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण घटेका कारण कम आवेदन परेको र अर्काेतर्फ लोकसेवा आयोगको पाठ्यक्रम निकै कठिन रहेकाले पनि थोरै उत्तीर्ण भएको हुन सक्ने सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् । गत १७ साउनमा प्रकाशित लिखित परीक्षाको नजिताअनुसार मधेसी र सैनिक सन्नतिको कोटामा मागभन्दा कम उत्तीर्ण भएका थिए । मधेशी कोटामा २७ सिटमा आठ तथा सैनिक सन्ततिमार्फत १२ सिटमा पाँच उत्तीर्ण भएका थिए । सेनाले अधिकृत क्याडेटमा २२९ पदमा भर्ना खोलेकोमा लिखित परीक्षामा पाँच सय ८९ जना उत्तीर्ण भएका थिए ।

 
 
  
 

You may also like