२८ जेठयता प्राकृतिक विपत्तिमा परी १४३ जनाको मृत्यु, ४७ बेपत्ता

काठमाडौं । मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ६१ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ७१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जनागरी ४७ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य जारी छ । बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । छ सय आठ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ४२ घरपरिवार विस्थापित भएका कार्कीले जानकारी दिए ।

 
 
  
 

You may also like