रविलाई गगनको चुनौति : फाइल खोल्दिम भनेर धम्क्याउने होइन, खोलेर देखाउनुस्

‘रास्वपा सांसदहरु गठबन्धन फेर्न कांग्रेस नेताका घर–घर पुगिरहेका छन्’

by समतल अनलाइन
250Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले भनेका विषयमा फाइल खोल्न कांग्रेस तयार रहेको बताएका छन् । गृहमन्त्री लामिछानेले संसदमा सम्बोधन गरेपछि आइतबार साँझ महामन्त्री थापाले गरेको पत्रकार सम्मेलनमा लामिछानेले आज उठाएका विषयमाथि छानबिन गर्न तयार रहेको बताएका हुन् ।

थापाले लामिछानेको सिंगो प्रयास सांसद र जनतालाई बहकाउने प्रयास भएको टिप्पणी गरेका छन् । थापाले लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता हो भन्दै प्रश्न समेत उठाएका छन् । उनले भने, ‘तेरो फाइल खोल्दिम, तेरो अनुसन्धान गर्दिम भनेर धम्क्याउने होइन, गृह मन्त्रालय भनेको ठूलो जिम्मेवारी हो, धमाधम फाइल खोल्ने हो, धमाधम अनुसन्धान गर्ने हो, गलत भए कारबाही पो गर्ने हो त ।’

थापाले कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बनाउन कुनै अफर नगरेको स्पष्ट पारेका छन् । थापाले संसदमा सहकारीबाट ऋण लिएको छैन भने पनि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण आफूसँग रहेको दाबी गरे । उनले सहकारीबाट ऋण लिएर गोर्खा मिडियामा शेयर किनेको कागजातबाट पुष्टि हुने दाबी गरे ।

‘रास्वपा सांसदहरु गठबन्धन फेर्न कांग्रेस नेताका घर–घर पुगिरहेका छन्’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू डेमोक्रेटिक अलाइन्स (प्रजातान्त्रिक गठबन्धन) का लागि कांग्रेस नेताहरूकोे घर–घरमा पुगेको बताएका छन् । थापाले पहिला कांग्रेसका र अहिले रवि लामिछानेका मित्र (सायद डा. स्वर्णिम वाग्ले) ले यस्तो काम गरिरहेको दाबी गरे ।

‘म उहाँहरुको गोपनीयता भङ्ग गर्न चाहन्न । तर, पहिले नेपाली कांगेसको र अहिले रवि लामिछानेका अभिन्न मित्रले नेपाली कांग्रेसका नेताहरुको घर–घरमा पुगेर हामी डेमोक्रेटिक अलाइन्सका लागि तयार छौं भन्दै संसदीय समितिको टीओआरमा लचक भई दिन आग्रह गर्नु भएको छ,’ थापाले पत्रकार सम्मेलनमा खुलासा गरे । उनले आफूसँग पनि भेटेर एमालेसँग नजिक हुन बाध्य नपार्न आग्रह गरेको दाबी गरेका छन् ।

You may also like

This will close in 0 seconds