काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका एक जना नेपाली सैनिकको ज्यान गएको छ ।
लेबनानमा तैनाथ पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत सिपाही दोलखाका सुवास थापाको ज्यान गएको नेपाली सेनाले जनाएको छ । उनले आफैले बोकेको हतियारबाट गोली लागेको थियो । घाइते भएका थापाको उपचारकै क्रममा ज्यान गएको हो । उनको शव नेपाल ल्याउन पहल भइरहेको छ ।
उनको माघ १८ गते मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । थापा उक्त गण मुख्यालयको बङ्करमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेका थिए । गण मुख्यालयमा रहेको युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको त्यहीँ निधन भएको थियो ।
‘स्वर्गीय सिपाही सुवाशको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ’, सेनाले जनाएको छ । हाल उक्त मिसन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाइँ चलिरहेकाले त्यसको मनोवैज्ञानिक असरका अलवा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भइरहेको सेनाले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनमा खटिदा ७३ जना नेपाली सेनाको मृत्यु भइसकेको छ ।