काठमाडौं । सम्भवतः आज (बुधबार) राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १७ गते राष्ट्रिय समन्वय परिषद् बैठक बोलाएका हुन् । सो समन्वय परिषद्को बैठकमा ‘प्रदेश प्रहरी समायोजन’ मुख्य एजेण्डामा छलफल हुने बुझिएको छ ।
नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नेबारेमा ५ वटा विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु सहमत भएपछि प्रधानमन्त्री प्रचण्डले समन्वय समितिको बैठक बोलाएको स्रोतले बतायो ।
प्रदेशमा प्रहरी समायोजनका लागि दुई वटा ऐनमा समस्या देखिए पछि सो ऐनलाइ संशोधन र सुधार गर्न गृह मन्त्री श्रेष्ठ र सातै प्रदेशका मन्त्रीहरु सहमत भए पछि त्यसलाई टुंगो लगाउने परिषदको बैठक बोलाइएको हो । सो समन्वय परिषदमा मुख्यमन्त्रीहरु र उपप्रधान एवं गृहमन्त्री सदस्य रहेका छन् ।