कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि शुरु

by समतल अनलाइन

कञ्चन। रुपन्देहीको कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा सोमबारदेखि शुरु भएको छ ।
गाउँसभा सञ्चालन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँ सभा तथा १५ औं अधिवेशनमा सभा हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई बिधान कार्यान्वयन अधिवेशनको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले १५ औं अधिवेशनसम्म आईपुग्दा पालिकाको सामर्थ्य र क्षमताले भ्याएसम्म विभिन्न क्षेत्रसंग सम्वन्धित अपांगता ऐन, ३६ वटा कार्यविधि र चारवटा मापदण्ड निर्माण गरि जारी गरेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष मौसमी थापा मगरले हिउँदे सभाको बजेट तथा कार्यक्रमको संशोधित आय ब्ययको विवरण प्रस्तुत गर्नुभयो । उहाँले राज्यको घटदो राजस्व संकलन तथा स्थानीय सरकारलाई प्राप्त हुने बजेट सिलिङबीच बढ्दो माग र आवश्यकता पूरा गर्नु भविष्यमा अझै चुनौतिपूर्ण हुने देखिएको बताउनु भयो । उपाध्यक्ष मौसमी थापा मगरले आन्तरिक आयबृद्धिलाई एक मात्र विकल्प रहेको बताउँदै उपलब्ध स्रोत र साधनबीच जनताको अधिकतम आवश्यकता पूरा गर्दै आएको उल्लेख गर्नुभयो ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसक्रममा गौतमले पालिकाको आन्तरिक श्रोत बृद्धि गर्न पालिकाभित्र रहेको तालतलैया, विभिन्न हाट बजारहरुको ठेक्का प्रकृया पालिका मातहतमा ल्याउने पर्ने बताउनु भयो । पालिकामा सम्भावनाका अनेकन खानीहरु रहेको उल्लेख गर्दै ती सवै आन्तरिक श्रोतका आधारलाई प्रकृयामा ल्याउने कुरामा ढिलाई गर्नु नहुने कुरालाई प्रमुख प्रशासकिय अधिकृत गौतमले जोड दिनु भयो ।

कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कञ्चन गाउँपालिकाको जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको बिधेयक २०८० लाई लुम्बिनी प्रदेशको गाउँसभा र नगर सभाको कानुन निर्माण प्रकृया सम्वन्धि ऐन २०७५ को दफा १३ को उपदफा १ अनुसार सभा समक्ष पेस गर्नुभयो ।
गाउँसभामा कार्यपालिका सदस्य कुमारी घर्ती, मिना बिक र रञ्जना थारुले शुभकामना मन्तब्य दिनुभएको थियो । गाउँ सभाको अर्को बैठक यही माघ १९ गते शुक्रबार विहान ८ बजे बस्नेगरी तोकिएको छ ।

 
 
  
 

You may also like