काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको मौसमविदले जनाएका छन् । देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज (मंगलबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।