पाल्पा । नेपाली सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले कर्णेल उजिर सिंहले अंग्रेजसंगको यूद्धमा प्रयोग गरेको पदमार्ग निर्माण गरि तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति याम प्रसाद ढकालले तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठलाई पदमार्ग हस्तान्तरण गर्नुभएको हो । नेपाली सेनाले १७५ मिटर पदमार्ग निर्माण गरेको गरुणदल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानसेनापती महारथी प्रभुराम शर्माको कमाण्ड मार्गनिर्देशन अनुसार मध्यपश्चिम पृतना हेडक्वाटरले १५ लाख रुपैंयाको बजेटमा पदमार्ग निर्माण गरेको हो । नेपाली सेनाको क्विक ईम्प्याक्ट प्रोजेक्ट अन्र्तगत जनतामा छिटो प्रभाव पार्ने योजना अनुसार पदमार्गको काम भएको हो । बाईस बाहीनीपती सहायक रथी ललित बहादुर कुँवर, तिनाउ गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापा, प्रवक्ता यादव अर्याल, तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतलगाएतको उपस्थितिमा नेपाली सेनाले पदमार्ग हस्तान्तरण गरेको हो ।
गरुणदल गणले निर्माण गरेको यो पदमार्ग कर्णेल उजिर सिंहले यूद्धमा प्रयोग गरेको बाटो पनि हो । यो मार्ग पहिले नुन बोक्ने बाटो समेत भएको र यस ऐतिहासिक मार्गलाई थप स्तरोन्नती गर्दै जाने गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले ऐतिहासिक पदमार्ग निर्माण गर्ने नेपाली सेनालाई धन्यवाद व्यक्त समेत गर्नुभयो । यस क्षेत्रमा नेपाली सेना र स्थानीयको अनुरोधमा निर्माण व्यवसायी अनुस श्रीया कन्स्ट्रक्सनका लक्ष्मण थापाले चौतारी जिर्णोद्धार गर्नुका साथै भैरव मन्दिरमा १ हजार लिटरको पानी टंकी सहयोग गर्नुभएको छ ।
नुवाकोटमै तिनाउ गाउँपालिका, नेपाली सेना र साईन रेसुंगा बैंकको सहकार्यमा कर्णेल उजिर सिंहको पुर्ण कदको सालिक बन्ने भएको छ । साईन रेसुंगा बैंकका प्रवन्धक सिईओ प्रकाश पौडेलले सालिक बनाउन सहकार्य गर्ने बताउनुभयो । नेपाली सेनाले ऐतिहासिक गढी, किल्लाहरुको संरक्षणका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । नेपाली सेनाले यसभन्दा पहिले सिंढी समेत बनाईसकेको छ । गणले माथागढीमा १० लाख रुपैंया बराबरको सिंढी र रेलिंग बनाउने कार्य गरिरहेको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनुभयो ।
			        

												
														

