तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

by समतल अनलाइन

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा बटन थिचेर, बाटो काटेर समुद्घाटन गर्नुभयो। हाल तिलोत्तमाको कोटिहवा, ड्राइभरटोल, भलवारी, र मणिग्राम गरि विभिन्न चोकहरुमा ट्राफिक लाइट जडान छन् ।

धेरै दुर्घटना हुने क्षेत्र मानेर सो क्षेत्रमा शान्तिकुञ्ज चोक मुख्य सडकमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको पेडेस्ट्रियन क्रसिङ राखेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले पैदलयात्रुलाई बिशेष ध्यानमा राखी सो प्रबिधि जडान गरिएको उहाँको भनाई छ। सो अवसरमा बोल्दै नगरउपप्रमुख जगेश्वर देवी चौधरीले नगरको समग्र बिकासका लागि प्रविधिले पनि धेरै प्रभाव पार्ने हुँदा प्रविधिको बिकास संगै भौतिक र मानवीय बिकासलाई जोड दिइएको र फलस्वरूप सेल्फ क्रसिंग प्रबिधि राखिएको उहाँको भनाइ छ।

कार्यक्रममा आएका अतिथिलाई स्वागत गर्दैतिलोत्तमा वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले नगर बाल मैत्री पछि युवा मैत्री बाताबरण संगै बाताबरण मैत्री बाताबरण निर्माण गर्न यस्ता खाले प्रविधिको सहि सदुपयोग गरि समृद्ध तिलोत्तमा बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बजिर सिंह बिस्टले ट्राफिक नियमको पालना गरि सवारी चलाएमा दुर्घटना बात बाँचिने समेत बताउनुभयो। ‘पैदलयात्रुले स्वीच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि पारीपट्टी यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन् ।

त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ प्रहरी निरिक्षक बिस्टले भन्नुभयो ।सो अवसरमा प्रविधिको बारेमा बोल्दै क्यु सेरा मल्टिप्रपोजका बिबेक श्रेष्ठले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताउनुभयो। उहाँले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए ।कार्यक्रमको संचालन मोहन न्यौपानेले गर्नुभएको थियो।

 
 
  
 

You may also like