प्रधानमन्त्रीको अमेरिका भ्रमणको टोली तय, को–को जाँदैछन् ?

by समतल अनलाइन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा जाने टोली तय भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले यस्तो जानकारी गराएका हुन् ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८ औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्डसहितको प्रतिनिधिमण्डल भदौ ३० मा प्रस्थान गर्नेछ ।
मन्त्री साउदका अनुसार प्रधानमन्त्री भदौ ३० देखि असोज ४ (तदनुसार १६ देखि २१ सेप्टेम्बर २०२३) सम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने कार्यक्रम रहेको छ ।

भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल छन् ।

नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीहरू लगायत नेपालबाट मिडिया प्रतिनिधिहरु समेत रहने उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८ औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने मन्त्री साउदले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड असोज ४ गते चीनतर्फ लाग्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like