राजश्व बढाउने बहानामा दुःख दिने कदापी स्वीकार्य हुँदैन : खाँण

by समतल अनलाइन

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले रु. १ सय भन्दा बढीको मालवस्तु आयातको अर्थ लगाइ राजश्व बढाउने बहानामा दुःख दिने र असुली गर्नु कदापी स्वीकार्य नहुने बताएका छन् ।

उनले नेपालको सन्दर्भमा वैदेशिक रोजगारीमा गएकाहरुबाट पठाएको रेमिटान्स नै अर्थतन्त्रको मेरुदण्ड र विदेशी मुद्रा आर्जनको मुख्य श्रोत बनेको सन्दर्भमा भारतलगायतका तेस्रो मुलुकमा रोजगारीको शिलशिला गइ घर फर्कदा घर परिवारका लागि चाहिने सीमित अत्यावश्यक वस्तु ल्याउँदा समेत दुःख दिने कार्य स्वीकार्य नहुने बताए ।

आइतबार विज्ञप्ती जारी गर्दै खाणले नेपालको सामाजिक परिवेश र साँस्कृतिक विविधताको कारण चाडपर्वहरु नजिकिदै गर्दा रोजगारीको सिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि अब बढ्दो रहेको बताएका छन् ।

‘नेपालको सामाजिक परिवेश र साँस्कृतिक विविधताको कारण चाडपर्वहरु नजिकिदै गर्दा रोजगारीको सिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि अब बढ्दो छ । यसका साथ साथै सीमा क्षेत्रमा बसोवास गर्ने दुवै देशका नागरिकहरुको अर्मपर्म र सरसापटीसमेत हुने सामाजिक परिवेश तथा रोटीबेटीको सम्बन्धलाई समेत दृष्टिगत गर्दै कानूनको व्यवहारिक कार्यान्वयनमा जोड दिन सरकार र सम्वद्ध पक्षको यसै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदछौं, ’उनले भने ।

पछिल्लो केही महिना यतादेखि नेपाल भारत सीमामा रहेका बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानीय बजारको व्यापारमा आएको सुधार र राजस्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत गरेको खाणको भनाइ छ ।

‘व्यवसायिक प्रयोजनका लागि हुने चोरीपैठारी र निकासीले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल असर गर्दछ भन्ने तथ्यलाइ मनन गर्दै सरकार र सम्बन्धित निकायबाट भएका प्रयासको स्थानीय सरकार र जनस्तरबाट समेत साथ र समर्थन रहदै आएको छ, ’विज्ञप्तीमा भनिएको छ ।

 
 
  
 

You may also like