खाली गरियो बुटवलको शिवशिखर सहकारीको भवन

बुटवल । बचतकर्ताको रकम अपचलन गरेपछि बन्द भएको बुटवल उपमहानगरपालिका वडा नं. १० योगिकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गरिएको छ ।

सहकारीले योगिकुटीमा रहेको एक घरमा कार्यालयसँगै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको थियो। तर लामो समयदेखि सहकारी र डिपार्टमेन्टल स्टोर बन्द भएपछि घरधनीले प्रहरी, जनप्रतिनिधी र सहकारीका केही कर्मचारीको रोहबरमा भवन खाली गराइएको हो ।

घरधनी ईश्वर मल्लले प्रक्रिया पुर्याएर डिपार्टमेन्टल स्टोर खाली गराउन अनुरोध गर्दा समेत खाली नगराएपछि प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधिको रोहबरमा डिपार्टमेन्टल स्टोर खाली गराएको बताए ।
शिवशिखरले बुटवल उपहामहनगर–१०, योगीकुटीमा रकम जम्मा गर्ने काउन्टरसँगै डिपार्टमेन्टल स्टोर पनि सञ्चालन गरेको थियो। २०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर’ मार्फत् व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो।

यो सहकारी २०७८ साउनमा बुटवल आएको थियो। सहकारीको काउन्टर र डिपार्टमेन्टल स्टोर दुवै तीन महिनादेखि बन्द थिए।

बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५÷१६ जना बचतकर्ताले वचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक आफूहरुसँग नभएको बताए।

लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारीको दर्ता संघमा भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए।

शिवशिखर सहकारीले जनताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा त्यसका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन्।

 
 
  
 

You may also like