रेष्टुरेण्ट–डान्सबारमा सिद्धार्थनगरको अनुगमन

by समतल अनलाइन

भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरेको छ ।

नगरवासीले नगरमा यौनजन्य क्रियाकलापले समस्या भएको गुनासो गरेपछि रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले बताइन् ।

नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र मानव बेचबिखन विरुद्ध लगायत क्षेत्रमा काम गर्ने शुभ अवसर ग्राम नेपालले संयुक्त रुपमा नगर क्षेत्रमा रहेको मनकामना रेष्टुरेण्ट, स्टार रेष्टुरेण्ट, रोयल स्पा प्यालेस, होटल लुम्बिनी गेष्ट एण्ड रेष्टुरेण्ट (डान्सबार) मा शनिवार राति अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा यौनजन्य गतिविधी नगरेको तर केही स्थानमा शंकास्पद गतिविधी देखिएकोले व्यवसाय संचालकलाई सचेत गराइएको उपप्रमुख अधिकारीले बताइन् ।

‘यौनजन्य क्रियाकलाप हुने गरेको भन्ने स्थानहरुमा सूचनाका आधारमा अनुगमन गरेका थियौँ’ उपप्रमुख अधिकारीले भनिन, ‘केही स्थानमा शंकास्पद गतिविधी पाइएपछि व्यवसाय संचालकलाई पहिलो पटकका लागि सचेत गराएका छौँ ।’

केही रेष्टुरेण्टमा शंकास्पद अवस्थामा फेला परेका युवतीहरुले अनुगमन टोलीसगँ यौनजन्य क्रियाकलापमा संंग्लन नभएको भन्दै अस्विकार गरेपनि उनीहरुलाई काउन्सिलङ्ग समेत गरिएको थियो ।

अनुगमनमा नगरपालिकाको कार्यालयमा मूल्यसूची नभएको, आगन्तुक दर्ता पुस्तिका नभएको, सरसफाई नभएको, कर्मचारीको परिचय पत्र नभएको, व्यवसाय कर नविकरण नभएको, डे«स कोड नभएको लगायत कैफियत देखिएकोले पहिलो पटकका लागि सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत एवं समाजिक विकास शाखाका प्रमुख यादवप्रसाद सापकोटाले बताए ।

 
 
  
 

You may also like