अक्षर एकेडेमीमा अभिभावक दिवस मनाइयो

by समतल अनलाइन

बुटवल। पारीबुटवल जितगढी पथमा रहेको अक्षर एकेडेमी विद्यालयले आफ्नो छैठौ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले अभिभावक दिवसको अवसरमा सप्ताहव्यापी रुपमा आयोजना गरेको विभिन्न कार्यक्रममा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीसँगै तिनका अभिभावकलाई पनि सम्मान गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) का केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि निजी क्षेत्रले पुर्याएको योगदानको राज्यबाट मुल्यांकन हुनु पर्ने बताउनुभयो । उहाँले ठुलो जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरुले ठुलो भुमिका खेलेको भन्दै सामुदायिक र संस्थागत विद्यालयविचमा विभेद सृजना गर्ने जस्ता कार्य गर्न नहुने सुझाव राख्नुभयो । विद्यालयका प्रधानाध्यापक रुपा श्रेष्ठ पाठकले बिद्यालयको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर वृद्धिसङै विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने अतिरिक्त क्रियाकलापलाई जोड दिदै जाने बताउनु भयो । कार्यक्रममा बुटवल एकका वडाध्यक्ष नरेन्द्र बस्नेत, दुईका वडा सदस्य गंगा घिमिरे, नगर न्यायिक समितिका गौतमलाल शाक्य, एन प्याब्सनका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्याल, स्थानीय समाजसेवी महेश बस्नेत, आमा समुहका संस्थापक अध्यक्ष धना लामा, शिक्षक बविता बेलबासे, शिक्षक दुर्गा सापकोटा लगायतले विद्यालयले आयोजना गरेका विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई तथा शुभकामना दिनु भएको थियो । महिला शिक्षक प्रतीक्षा घिमिरेको स्वागतमा भएको अभिभावक दिवस कार्यक्रमका अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए ।

 
 
  
 

You may also like