शेखर–गगनमध्ये को बन्लान् कांग्रेस संसदीय दलको उम्मेदवार ?

by समतल अनलाइन

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज (मंगलबार) पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुनः बस्ने गरी सकिएको थियो ।

कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहेका छन् भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न सकेको छैन । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेदवार बन्न दबाब दिँदै आएका छन् ।

कांग्रेसले संसदीय दलको नेता छान्न भोलि बिहान चुनाव गर्ने तयारी छ । त्यसका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । अस्ति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

मिलेर जाने सम्भावनाको खोजी गर्न महामन्त्री थापा र नेता कोइराला समूहले प्रयास गरिरहेको छ । गगन थापाले यस पटक आफूलाई सघाउन शेखर कोइरालासँग आग्रह गर्दै आएका छन् । शेखर कोइरालाले भने अर्को पटक आफूले सघाउने ग्यारेन्टी दिन तयार रहेको तर अहिले आफूलाई सहयोग गर्न थापालाई आग्रह गरेका छन् ।

संसदीय कानुन अनुसार प्रधानमन्त्रीको दाबी गर्न संसदीय दलको नेता हुनुपर्छ । हरेक दलका सांसदहरुले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्छन् ।

 
 
  
 

You may also like