रुकुमपूर्व बस दुर्घटना, पाँचको मृत्यु, १३ घाइतेमध्ये पाँच जना गम्भिर (अपडेट)

by समतल अनलाइन

कर्णाली । रुकुमपूर्वको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस बिहीबार दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए ।

उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए ।

घाइतेको उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए । गृहमन्त्री खाँणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए ।

 
 
  
 

You may also like