लुम्बिनी वौद्ध विश्वविद्यालयमा २ प्राध्यापकलाई बर्खास्त गर्न विप्लव निकट विद्यार्थी संगठनको माग

बुटवल ।विद्यार्थीमाथि दुव्र्यवहार गर्ने लुम्बिनी वौद्ध विश्वविद्यालय अन्तर्गत बुटवल सिटी कलेजका प्राध्यापकलाई बर्खास्त गर्न नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले माग गरेको छ ।

सिटी कलेजका प्राध्यापक कमल मरासिनीले कानून संकायमा एलएलबी चौथो सेमेस्टर अध्ययनरत छात्राहरुलाई मोबाइलमा विभिन्न म्यासेज पठाई दुब्र्यवहार र मानसिक तनाव दिने गरेका तथा मेघनाथ खनालले प्रवेश परीक्षादेखि परीक्षाफल प्रकाशनमा आफ्नो भूमिका रहेको भन्दै विद्यार्थीहरुलाई धम्की दिने गरेकाले उनीहरुलाई बर्खास्त गर्न माग गरेका हुन् ।अखिल क्रान्तिकारी रुपन्देहीले मंगलबार पत्रकार सम्मेलन गरी २४ घण्टाभित्र दुईजना प्राध्यापकलाई बर्खास्त नगरे थप चरणवद्ध आन्दोलनमा जाने अखिल क्रान्तिकारी सिटी कलेजका अध्यक्ष आविश पौडेलले बताउनु भयो ।

यसअघि कलेजसंग भएका ९ बुंदे सहमति समेत कलेजले पालना नगरेपछि संगठनले गत असार १७ गते क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेकोमा सहमति पालना गर्न बेवास्ता गरेकाले वाध्य भएर चरणवद्ध आन्दोलनमा जानुपरेको अध्यक्ष पौडेलले बताउनु भयो ।

कलेजमा प्राध्यापकको दुब्र्यवहार, पठनपाठनको समस्या,भौतिक संरचना अभाव,प्रयोगात्मक सामग्री अभाव जस्ता विषयबारे छानवीन गर्न गठित कार्यदलको प्रतिवेदन आ विद्यार्थीलाई सार्वजनिक नगरेको अखिल क्रान्तिकारीको आरोप छ । २४ घण्टाभित्र माग पूरा नभए विश्वविद्यालयका रजिष्ट्रार र डिनको कार्यालयमा समेत तालाबन्दी गर्ने अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज विज्ञान क्षेत्रीले बताउनु भयो ।

विश्वविद्यालयका प्रशासन अधिकृत चुरामणि पोखरेलले विद्यार्थी संगठनले विद्यार्थी संगठनका अधिकांश माग पूरा भइसकेका तर अर्कै उद्देश्यका लागि विश्वविद्यालयलाई अनावश्यक दवाव दिन खोजिएको बताउनु भयो । प्राध्यापक मरासिनीलाई सिटी कलेजबाट अन्यत्र सरुवा गरिसकेको पोखरेलले बताउनु भयो ।

स्रोतका अनुसार विद्यार्थी संगठनले विश्वविद्यालयसंग चन्दा मागेको छ । तर पत्रकार सम्मेलनमा यो विषयमा प्रश्न गर्दा अखिल क्रान्तिकारीका नेताहरुले चन्दा मागेको कुरा अस्वीकार गरे ।

 
 
  
 

You may also like