जेठ १ देखि विद्यालय पनि हप्तामा दुई दिन बिदा, मिन पचास बिदा ३० दिनमा झारियो

काठमाडौं । जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज (बुधबार) बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ ।
यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीयलगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

चुनावका कारण अधिकांश विद्यालय बन्द, जेठ ३ गते मात्रै खुल्ने
देशभरका अधिकांश विद्यालय बन्द भएका भएका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले वैशाख ३० गते मात्रै सार्वजनिक विदा दिने निर्णय गरेको भए पनि निर्वाचनको कारण देखाउँदै अधिकांश विद्यालयले सात दिन पठनपाठन बन्द गराएका छन् ।
विद्यालय बन्द हुँदा पठनपाठन रोकिनुको साथै भर्ना अभियान समेत प्रभावित भएको छ ।

वैशाख ३० गते निर्वाचन, ३१ गते शनिबार र जेठ १ गते आइतबार पनि सार्वजनिक विदा परेको छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक विदा दिइएको छ । अधिकांश विद्यालयले आज (बुधबार) देखि जेठ २ गतेसम्म विद्यालय बन्द गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन विदा दिन निर्देशन दिएको थियो ।

 
 
  
 

You may also like