कांग्रेस एक्लै चुनावी अभियानमा

काठमाडौं । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो ।

आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ । काँग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै काँग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन् । यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निणर्य भने बनाइसकेको छैन ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निणर्य गर्ने बताए । ‘टोल, वडा तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ,’ उनले भने, ‘यो अभियान जनतामाझ गएर काँग्रेस र एमसीसीबारेका भ्रम चिर्न गरिएको हो ।’

त्यस्तै, काँग्रेस प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहमा फोकस हुन जरुरी भएकोले जनताका घरदैलोमा पुग्न खोजेको बताए । काँग्रेसले ७७ जिल्लामा ७७ केन्द्रीय सदस्य पठाएको छ भने प्रदेश कार्यसमितिहरूले पनि प्रतिनिधि खटाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like