यौन सम्बन्ध राख्न नदिएपछि भाउजुको हत्या

by समतल अनलाइन

कपिलवस्तु । केही महिनाअघि कपिलवस्तुमा मृत भेटिएकी एक महिलालाई देवर नाता पर्ने एक व्यक्तिले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मंसिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले झण्डै ३ महिना पछि हत्यारा पत्ता लगाएको हो । हत्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ ।

फागुन ५ गते पक्राउ गरिएका अभियुक्तसँग प्रहरीले सोधपुछ गर्दा निजले गत मंसिर १० गते आफूले मादक पदार्थ सेवन गरेको विषयमा पत्नी मनिकला लोनियासँग विवाद भएपछि निज माइती गएकाले आफूले त्यस दिन राति करिब ९ बजेतिर मृतक यशोदा लोनियाको घरमा गएको, मृतकसँग सहमतिमै एक पटक शारीरिक सम्पर्क गरी सँगै सुतेको, तर केही बेरपछि पुनः अर्को पटक शारीरिक सम्पर्क गर्न लाग्दा भाउजुले इन्कार गरेपछि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । उनलाई जिल्ला अदालत कपिलवस्तुमा पेस गरी ५ दिन म्याद थपेर कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like