सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज, एमसीसीबारे ‘निर्णायक’ छलफल

by समतल अनलाइन

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निणर्य लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आज वैठक बस्दै छ । आजको बैठकले संसदमा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक तय गरिएको छ । बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि आजको बैठक तय गरिएको हो ।

एमसीसी अनुमोदनका लागि बुधबार प्रतिनिधिसभामा टेबल गर्ने चर्चा थियो । तर, कार्यसूचीमै परेन । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अघि बढाउने पक्षमा छन् । बुधबारै माओवादी केन्द्र संसदीय दलको बैठकले अहिलेकै अवस्थामा एमसीसी संसदमा अघि बढाए सरकारबाट बाहिरिने निणर्य गरेको थियो । उक्त निणर्य लगत्तै प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

बुधबारको संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार (भोलि) को संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् । त्यसैले पनि आजको गठबन्धनका नेताहरूको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

एमसीसी विवादकै कारण पाँच दलीय गठबन्धन समेत अप्ठ्यारो मोडमा आइपुगेको छ । एमसीसीबारे पाँच दलीय गठबन्धनमा सहमति नबने सरकार नै ढल्नेसम्मको अवस्थामा आइपुगेको छ । एमसीसी पारित गराउन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विकल्पको खोजीमा लागेका छन् ।

 
 
  
 

You may also like