युनियनको जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७७ नेपाललाई

by समतल अनलाइन
Shares

बुटवल। नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएको जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाललाई प्रदान गर्ने भएको छ । युनियनले आफ्ना सल्लाहकार तथा संस्थापक सचिव,पुर्व केन्द्रिय सदस्य, बिबिसी नेपाली सेवामा कार्यरत नेपाललाई जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गर्ने भएको हो ।

युनियनको बिहीबार बसेको नियमित बैठकले नेपाललाई पुरस्कृत गर्ने निर्णय गरेको सभापति रेखा भुषालले जानकारी दिनुभयो । तीन दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएका नेपाललाई युनियनले २५ हजार नगद राशि सहित पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारिता पुरस्कार छनोट समितिले नेपालको नाम प्रस्ताव गरेको र बिहीबारको नियमित बैठकले उक्त प्रस्तावलाई पारित गरि पुरस्कृत गर्ने निर्णय गरेको भुषालले जानकारी दिनुभयो । पुरस्कार छनोट समितिमा युनियनका पुर्व सभापती तथा सल्लाहकार खिमानन्द भट्टराई संयोजक तथा पुर्व सभापती तथा सल्लाहकार हरिष ढकाल र सभापति रेखा भुषाल सदस्य हुनुहुन्थियो ।

युनियनले एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण तथा सम्मान कार्यक्रम गर्ने जनाएको छ । पत्रकार नेपाल बुटवल एफएम र तिलोत्तमा राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । यसैबीच पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्न युनियनका उपसभापति दिपक घिमिरेलाइ संयोजकको जिम्मेबारी दिएको छ । यस्तै सदस्यता नविकरण तथा विस्तारका लागि उपसभापति कविन्द्र नेपालको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत बनाइएको छ।

You may also like