पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व बढ्छ : गृहमन्त्री खाँण

by समतल अनलाइन

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले सबै राजनीतिक शक्ति तथा दललाई राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीद्वारा बुधवार भैरहवामा आयोजित पार्टी कार्यकर्ता सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले दिवंगत नेता गिरिजाप्रसाद कोइरालाकै पहलमा तत्कालीन नेकपा (माओवादी) सँग बृहत् शान्ति सम्झौता भएको प्रसंग उल्लेख गरेका छन् ।

राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन चन्द समूहसँग सरकारको पहल भइरहेको जनाउँदै खाँणले मुलुकको आर्थिक समुन्नतीका लागि शान्तिको मार्ग प्रशस्त कसरी गर्ने ? भन्ने बारेमा सरकारले सोचेको बताए । ‘म बुद्ध जन्मस्थलबाट आह्वान गर्छु कि राष्ट्रिय राजनीतिको मूलधारमा सबै राजनीतिक शक्तिहरु आउनुस्’, खाँणले भने, ‘हतियार बुझाउन बाँकी रहेका शक्ति हुनुहुन्छ भने पनि हतियार बुझाएर शान्ति प्रक्रियामा आइ राष्ट्रिय राजनीतिको मूलधारमा आउनुस् ।’

कांग्रेसको अब हुने महाधिवेशनले कांग्रेसलाई आफ्नो दायित्वप्रति जिममेवारीबोध गराउने उनले बताए । सबैले नेपाली कांग्रेससँग आपसमा हातेमालो गरेर कसरी अगाडि बढ्ने ? भन्नेबारे सबै गम्भीर बन्न उनले आग्रह गरे । एउटा कांग्रेसले अर्को कांग्रेसलाई सम्मान गरेर निर्वाचनको बेला जीत र हारको अनुभूति नहुने गरी सबै कार्यकर्तालाई पार्टीमा समेटेर जाने वातावरण बनाउन सक्नु पर्ने चुनौती कांग्रेससामु आएको उनले बताए ।

पार्टी महाधिवेशनको बेलामा देखा पर्ने मतभेदका कारण कांग्रेसभित्रै एक पक्षले अर्को पक्षलाई हराउनमै बहादुरी मान्ने प्रवृत्तिले कांग्रेस जहिलेसुकै बहुमतका साथ सरकारमा रहँदा पनि बीचमै ढल्ने गरेको उनले बताए । ‘नेपाली कांग्रेस सरकारमा रहँदा सरकार र पार्टी दुवैलाई गतिशीलता बनाउन सकिएको छैन,’ उनले भने, ‘सरकार प्रमुख र पार्टी सभापति बीचको द्वन्द्वले हरेक निर्वाचनमा पार्टी एकताबद्ध भएर जान सकेको छैन ।’ पार्टी सभापति र सरकार प्रमुखमा एउटै व्यक्ति नहुँदा पटक–पटक नेपाली कांग्रेसको सरकार पूरा अवधि नटिकेर सरकार ढलेको प्रसंग उनले निकाले ।

 

 
 
  
 

You may also like