देउवा–पौडेल टक्कर पालिकाबाटै

by समतल अनलाइन

काठमाडौं। प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको छ । ६४ जिल्लामा पार्टीका गाउँ / नगरपालिका अधिवेशन भइरहेका छन् । ती जिल्लामा भएका वडा र गाउँ / नगर समितिका निर्वाचनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

क्रियाशील सदस्यता नटुंगिएका कारण ४ जिल्लामा भने वडा अधिवेशन अझै सुरु भएको छैन । बागमती प्रदेशमा अधिवेशन भएका स्थानीय तहमा पौडेल पक्ष बलियो देखिएको छ । काठमाडौं जिल्लामा पौडेल पक्ष बलियो देखिएको छ । काठमाडाैं महानगरपालिका सभापतिमा संस्थापनइत्तर समूहका नीलकाजी शाक्य निर्वाचित भएका छन् । काठमाडौंका सात तहमा पौडेल पक्षले जितेको छ भने देउवा पक्षका सभापतिले एउटा पालिकामा मात्र जितेका छन् । काठमाडौंमा संस्थापनइतर पक्षका उपसभापति प्रकाशमान सिंह–गगन थापा तथा कृष्ण सिटौला समूह बलियो देखिएको छ ।

बूढानीलकण्ठ नगर समितिको सभापतिमा राजाराम बुढाथोकी विजयी भए। बुढाथोकी गगन थापा निकटका मानिन्छन् । तारकेश्वरको नगर सभापतिमा निर्वाचित कृष्णहरि महर्जन र टोखा नगरपालिकाको नगर सभापतिमा निर्वाचित ओमकृष्ण विमली सिटौला समूहका हुन् । कागेश्वरी–मनहराको नगर अधिवेशनबाट उद्धव दाहाल सभापतिमा निर्वाचित भए । उनी देउवा निकट हुन् ।

त्यस्तै, शंखरापुर नगरपालिकामा निर्वाचित दिलीपकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका कुमार लामा र नागार्जुन नगरपालिका सभापतिमा निर्वाचित दुर्गा गौतम उपसभापति सिंह निकट मानिन्छन् । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीमा सहमतिको नेतृत्व चयनका लागि छलफल चलिरहेको नेताहरूले बताए । दक्षिणकालीमा एउटा वडामा विवाद देखिएपछि नगरसभापतिकै निर्वाचन रोकिएको छ ।

चार नगरपालिका रहेको भक्तपुरमा संस्थापन र पौडेल समूहले २/२ वटा नगर सभापति जितेका छन् । ६ पालिका रहेको ललितपुरमा तीनवटामा सर्वसम्मत र ललितपुर महानगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । ललितपुरको गोदावरी नगरपालिकामा प्रदीप जोशी, बागमती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाउँपालिका सभापतिमा खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा चयन भए ।

तीनै जना देउवा पक्षका हुन्। कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिका सभापतिमा निर्वाचित दिवाकर सिलवाल संस्थापन पक्षका हुन् । कोञ्ज्योसोममा सरोज घलान सभापति पदमा विजयी भएका छन् । उनी पौडेल समूह निकट हुन् ।

धादिङका १३ पालिकामध्ये ३ पालिकामात्रै संस्थापन पक्षले जितेको छ भने अर्को पक्षले ९ पालिकामा सभापति पाएको छ । नुवाकोटमा दुवै नगरपालिकामा संस्थापनइतर पक्षका उम्मेदवारले जित हाँसिल गरेका छन् । काभ्रेका १३ पालिकामध्ये संस्थापन पक्षले ९ पालिकामा सभापति जितेको छ । त्यस्तै, संस्थापनइतर पक्षले ३ स्थानमा जित हासिल गरेको छ । काभ्रेमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबीच सहकार्य भएको थियो भने पौडेल पक्ष प्रतिस्पर्धामा थियो ।

सिन्धुलीका ९ पालिकामध्ये संस्थापनइतर भनेर चिनिएका ७ जना र संस्थापन पक्षका २ जना निर्वाचित भएका छन् । रामेछापका ८ स्थानीय तहमध्ये ५ मा संस्थापनइतर समूह विजयी भएको छ । संस्थापन पक्षले एक पालिकामा सभापति जितेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like