बुटवल । नव जागृति पुस्तकालयको आयोजनामा स्रष्ठा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसरमा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम गरिएको हो । बुटवल उपमहानगरपालिकाल वडा नम्वर ४ अवस्थित विश्व हिन्दु महासंघ जिल्ला शाखा रूपन्देहीको सभाहलमा भएको कार्यक्रममा नेपाली साहित्यका सुप्रसिद्ध छन्दकवि एवं छन्दअभियन्ता कविराज पौडेललाई राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मजयन्तीमा सम्मान गरिएको हो ।
उक्त स्रष्टा सम्मान तथा पुरस्कार प्रदान कार्यक्रममा वरिष्ठ शिक्षाविद् तथा साहित्यकार बालकृष्ण भट्टराईले राष्ट्रकवि माधव प्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार प्राप्त गर्नुहुने छन्दकवि कविराज उपयुक्त पात्र भएकाे भन्दै पौडेललाई बधाई दिँदै आगामी दिनहरूमा साहित्यको क्षेत्रमा अझ बढी सक्रियता साथ अगाडि बढन आग्रह गर्नु भयो । राष्ट्रकवि माधवप्रसाद घिमिरेका कवितामा जुन प्रकारको सकारात्मक चिन्तन पाइन्छ त्यस्तै छन्दकवि कविराज पौडेलको कवितामा पनि नकारात्मक चिन्तन भन्दा उच्च कवित्वसहितकाे काव्य साैन्दर्य र सकारात्मक सन्देश प्रवाह गर्ने किसिमका कविताहरु प्रकाशित गरी नेपाली साहित्यको मूलत: छन्द विधामा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यस्तै स्रष्ठा सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले नेपाली भाषा, साहित्यको क्षेत्रमा योगदान पुराउनुहुने हरेक कविको नाममा छ वटा पुरस्कार स्थापना गरिएको बताउदै उहाँहरुको जन्मजयन्तीको अवसर पारेर स्रष्टालाई सम्मान गर्ने बताउनुभयो । यसले गर्दा नेपाली साहित्यको क्षेत्रमा महव्वपूर्ण योगदान गर्ने हरेक कविप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गर्नुभयो ।
पुरस्कार छनाेट समितिका संयाेजक वरिष्ठ साहित्यकार प्रा.डा. हिरण्यलाल ज्ञवालीले कविराजले पिङ्गल छन्दलाई विश्वव्यापीकरण गर्न छन्दवादी समाज नेपालकातर्फबाट छन्द तरङ्ग,काठमाडौंसित सहकार्य गर्दै उल्लेख्य कार्य गरेकाे र संयुक्त राष्ट्र संघकाे युनेस्काेमा अन्तर्राष्ट्रिय छन्द दिवस घाेषणा गर्ननिमित्त पत्रचारसमेत गरेकाे बताउनुभयाे।कविराजले २०६० सालमा छन्दवादी समाज नेपाल नामक संस्था खाेली दर्तासमेत गरी छन्द उन्नयनमा भूमिका खेलेकाे र छन्दवादी समाज नेपाल छन्दसम्बन्धी दर्ता भएका संस्थामा नेपालकै पहिलाे संस्था रहेकाे र कविराजका कविता काव्य साैन्दर्यले माझिएका र घिमिरेकै मानस पुत्रका रूपमा रहेकाले साे पुरस्कार प्रदान गरिएकाे बताउनुभयाे।नव जनजागृति पुस्तकालयले कविको नाममा स्थापित पुरस्कार जुन कविको विधासंग सम्बन्धित छ त्यही अनुसार पुरस्कृत गर्दा समय सान्दर्भिक हुने र त्यस्तै गरिएकाे बताउँदै सम्मानित स्रष्टालाई बधाई तथा आगामी दिनमा अझै सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा सम्मानित स्रष्टा कविराज पौडेल र उहाँकी धर्मपत्नी हिरा शर्माले रचना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम नव नागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षाविद् एवम् वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईको प्रमुख आतिथ्य, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वेन बहादुर पौडेलको विशिष्ट आतिथ्य, विश्व हिन्दु महासंघ महिला समिति रूपन्देहीका अध्यक्ष अम्बिका पौडेल क्षेत्रीको शुभकामना मन्तव्य, पण्डित कृष्ण प्रसाद कोइराला, पुनाराम पेखर्रेल, डा. डुकुलराज घिमिरे , उर्मिला क्षेष्ठ लगायतले बोल्नुभएको थियो । यसैबीच विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीले आफनो नियमित बैठक तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नव जागृति पुस्तकालयबाट प्रकाशित हुने ॐ ज्ञानज्योतिको संयुक्त रूपमा विमोचन गरिएको हो। साथै विश्व हिन्दु महासंघमा आजीवन सदस्य बन्नुहुने सदस्यहरूलाईसमेत सम्मान गरिएको हो ।