आफ्नो रक्षा क्षेत्रमा चीनले एक साथ २५ विमान पठाएपछि ताइवानको आपत्ति

by समतल अनलाइन

काठमाडौं। चीनले २५ वटा सैन्य विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा पठाएको भन्दै ताइवानले आपत्ति जनाएको छ । जनवादी गणतन्त्र चीन स्थापना दिवसकै दिन (शुक्रबार) चीनले ताइवानको स्वशासित टापु नजिकै एकसाथ २५ विमान पठाएर शक्ति प्रदर्शन गरेको थियो । त्यसप्रति ताइवानले आपत्ति जनाएको हो ।

चीनले भने विमान पठाइएको टापु क्षेत्रलाई आफ्नै क्षेत्र भएको दाबी गर्दै आएको छ । बेलायतले ताइवानमा दुई युद्धपोत पठाएको आरोप लगाएको अर्को साता चीनले पनि ताइवानमा २५ सैन्य विमान पठाएको हो । यसअघि पनि चीनले पटक पटक ताइवानको रक्षा क्षेत्रमा युद्ध विमान पठाइसकेको छ । जसको ताइवानले विरोध गर्दै आएको छ । ताइवानको रक्षा मन्त्रालयले चीनले २२ लडाकु, दुई परमाणु बमवर्षक र एक पनडुब्बी विरोधी विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको जनाएको छ ।

गत साता ताइवानले ट्रान्स प्यासिफिक व्यापार सम्झौतामा समावेश हुन आवेदन दिएपछि चीनले आफ्ना २४ विमान ताइवानको क्षेत्रमा पठाएको थियो । चिनियाँ नेताहरुले ताइवानलाई एक दिन कब्जा गर्ने प्रतिक्रिया दिँदै आएका छन् । आवश्यक परेमा बलपूर्वक कब्जा गर्ने उनीहरुको चेतावनी छ ।

२०१६ मा ताइवानमा राष्ट्रपति निर्वाचनपछि चीनलाई दबाब बढ्न थालेको जानकारहरु बताउँछन् । ताइवानमाथि चिनियाँ गतिविधिलाई लिएर अमेरिकाले भने चीनको आलोचना गर्दै आएको छ । ताइवानका नव निर्वाचित राष्ट्रपति साइ इङ वेनसहितका नेताहरुले चीनबाट अब ताइवान स्वतन्त्र भएको प्रतिक्रिया दिन थालेपछि चीनले यस क्षेत्रमा थप गतिविधि बढाउँदै लगेको हो । एजेन्सी

 
 
  
 

You may also like