काठमाडौं। सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन अर्को चुनावसम्म टिकेमा दुई तिहाइ बहुमत आउने दावी गरेका छन् । उनले कांग्रेससहितको गठबन्धनलाई आगामी चुनावसम्म टिकाएर जान सक्नुपर्नेमा पनि जोड दिएका छन् । उनले देशको विकासकै लागि गठबन्धन बनाएको दाबी गरे ।
‘गठबन्धनलाई बचाएर त्यसकै बलबाट हामी दुई तिहाइको सरकार बनाउन सक्छौं । त्यसकै लागि यो मोर्चाबन्दी भएको छ’, उनले थपे, ‘गठबन्धनलाई जनताले पनि बुझेका छन् । हामी आफैं विचलित नभइ अघि बढेमा, आफैंलाई बदलेर हिंडेमा फेरि नम्बर एक बन्छौं ।’
माओवादी नेता पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसका अवसरमा बुधबार पेरिसडाँडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सच्चिएर अघि बढेमा फेरि ठूलो पार्टी हुने पनि जिकिर गरे ।
‘हामी १५ वर्षसम्म पटक–पटक सत्तामा गएकै हौं । तर देशको नेतृत्व राम्ररी गर्न नपाएर समय गयो,’ उनले भने, ‘यसबीचमा सयभन्दा धेरै मन्त्री भएछन् । हामीले अब आफूलाई सुधार्नु पर्छ । देशभका गाउँसम्म पार्टी संगठन बनाएर अघि बढ्नु पर्छ । अब अरुलाई गाली गरेर हुँदैन, आफैंलाई गाली गरेर जाऊँ । हामी सच्चिन सकेमा फेरि पनि देशको पहिलो शक्ति बन्न समस्या छैन ।’