विभाजनले एमाले घाइते भएको छ : भुसाल ‘माधव नेपालहरुलाई अर्को महाधिवेशनसम्म एमालेमा फर्काउँछौं’

by समतल अनलाइन

बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एक पटक पछारिइसकेकाले अब पार्टीले संयम भएर अघि बढ्नु पर्ने बताएका छन् ।

रुपन्देहीको बुटवलमा आज (बुधबार) आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी धेरै ठूलो चोटीबाट पछारिएका हौं, त्यसैले हामीले मात्तिनु हुँदैन, हामी राष्ट्र र विकासको कुरा गर्छौ सबै कुरा हटाई दिने हो भने राष्ट्र अमूर्त हुन्छ । हामीले देश विकासका लागि भोट लिएको हो । हामीले बाटो बिराउनु हुँदैन । हामीले विचार पुर्‍याएर अघि बढ्नु पर्छ ।’

उनले आफूहरुले समृद्ध मुलुक चाहेको पनि बताएका छन् । ‘हामी समृद्ध हुन चाहन्छौं । एमाले पथभ्रष्ट भयो भने यो मुलुकको भविष्य के हुन्छ ?’, उनले सोधे, ‘अब हामीले एकतावद्ध भएर अघि बढ्ने हो भने २०७४ सालको बर्चश्व फर्काउन सक्छौं ।’ ‘एमालेले सामाजिक र सांस्कृतिक रुपले नेपाली समाजमा जरा गाडिसकेको छ । त्यो पार्टीको अभाव अर्को कसैले पूरा गर्न सक्दैन’, भुसालले भने, ‘एमालेको निर्माणमा हामीले ठूलो मिहिनेत गरेका छौं । यही कुरा हामीले माधवकुमार नेपाललाई बताउन सकेनौं । उहाँ आफैंले बुझे जस्तो गर्नु भएन किन बुझ्नु भएन ।’

भुसालले यसअघि नेकपामा देखिएको विवादतिर इंगित गर्दै यसबीचमा भएका गल्तीको पनि समीक्षा हुनुपर्नेमा जोड दिएका छन् । ‘यो बीचमा कस–कसले गल्ती गरे ? गरेनन् हामीले समीक्षा गरौं’, उनले भने, ‘हामी यो बीचमा भाँडिएका हौं । अब फेरि हामी भाँडिनु भएन । हामी घाइते भएका छौं, ठन्डा दिमागले सोचेर पार्टीलाई एकै ठाउँमा ल्याऊँ ।’

उनले अब आफूहरुले एमालेलाई बलियो बनाउन कसम खाएको पनि बताए । ‘हामीले कसम खाएका हौं । कसले गल्ती ग¥यो गरेन, सबै छुट्टिन्छ’, उनले थपे, ‘पार्टीमै बसेर माधव नेपालहरुले सामना गर्नु भएन, उहाँहरु हिँड्नु भयो ।’ उनले माधव नेपालहरुलाई आगामी महाधिवेशनसम्ममा कुरा बुझाइसक्ने पनि बताए । उनले एमालेमै बसेर देशमा परिवर्तन र समृद्धि ल्याउन सक्ने कुरा आगामी महाधिवेशनसम्म बुझाएर उनीहरुलाई पार्टीमा फर्काउने पनि दाबी गरेका छन् ।

‘माधव नेपालहरुले अहिले कुरा बुझ्नु भएन । यदि तत्काल बुझ्नु भएन भने हामी विधान महाधिवेशन र अर्को महाधिवेशनसम्म उहाँहरुलाई बुझ्न बाध्य बनाउनेछौं’, उनले भने, ‘एमाले नै जनताको पार्टी हो भन्ने हामी उहाँहरुलाई बुझाउनेछौं । हामीले धेरै परसम्म सोचौं । एमाले पछारिएको हो, घाउ लागेको छ, घाइते भएको छ । तर अब उठ्छ, धुलो टकटक्याउँछ अगाडि बढ्छ ।’

 

 
 
  
 

You may also like