जनताको मनमा घर बनाएर चुनाव जित्छौं र सरकारमा फर्किन्छौं : विष्णु पौडेल

by समतल अनलाइन

बुटवल। प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनबाट एमाले सत्तामा फर्किने बताएका छन् । आज (बुधबार) बुटवलमा आयोजित कार्यकता भेलालाई सम्वोधन गर्दै उनले भने, ‘चुनाव जित्न एमालेले सरकारमा बस्नै पर्दैन, जनताको मनमा घर बनाएर चुनाव जित्छौं र सरकारमा फर्किन्छौं ।’

पौडेलले माधवकुमार नेपालले आगामी निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरे । ‘माधव नेपाल नेतृत्वको झुण्डको धेरै कुरा नगरौं । पार्टी केन्द्रमा बराबरी फुट्दा पनि २०५४ सालमा मालेले देशभर एक सिट जितेको थिएन’, उनले भने, ‘स्वार्थ, इर्श्या र कुण्ठाले विभाजित भएको झुण्डले आगामी चुनावमा एक सिट जित्दैन । जमानत जोगाउन सक्दैन ।’

उनले नेकपा माओवादी केन्द्र र एमालेबीच एकता गरेर कुनै गल्ती नगरेको पनि उल्लेख गरेका छन् । ‘दुई पार्टी एकता गरेर कुनै गल्ती भएको थिएन । तर माओवादीले धैर्यता देखाउन सकेन’, उनले भने, ‘पार्टीलाई विभाजित गरेर भए पनि सत्तामा पुग्ने आकांक्षाले समस्या बढायो ।’
उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लक्षित गर्दै कांग्रेसको पछि लागेर कोही पनि वामपन्थी नहुने बताएका छन् ।

‘कांग्रेसको पछि लागेर कोही वामपन्थी हुँदैन । दक्षिणपन्थीको पछि लाग्नेहरू कम्युनिष्ट हुँदैनन्’, उनले भने, ‘आगामी निर्वाचनमा हामी एमालेको तागत र हैसियत देखाउँछौं । जनताको समर्थन लिएर एमाले सरकारको नेतृत्वमा आउँछ । एमाले बाहेक अरु कसैले मुलुक बनाउन सक्दैन ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई उनले अध्यक्ष केपी शर्मा ओलीले जस्तै टालाटुली बाटुलीको संज्ञा दिए । ‘देउवा सरकार टालाटुली बटुली जस्तै हो । दुई महिनासम्म सरकार विस्तार गर्न नसकेका देउवाले केही गर्न सक्दैनन्’, उनले भने, ‘यो सरकारसँग कुनै अपेक्षा छैन । यो परमादेशबाट आएकाले जनताप्रति जिम्मेवार पनि छैन ।’

पौडेलले सभामुख अग्नि सापकोटालाई दलको सदस्य मात्रै भएको बताएका छन् । ‘प्रतिनिधिसभा अवरुद्ध भइरेको छ । तर सभामुख एउटा दलको सदस्य बनेका छन्’, उनले भने, ‘सभामुख दल फुटाउने खेलमा लागेका छन् ।’

 

 
 
  
 

You may also like