लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा डा. दामोदर भुषाल नियुक्त

by समतल अनलाइन

बुटवल। लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा सामाजिक अभियन्ता डा. दामोदर भुषाल नियुक्त भएका छन् । आईतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले भुषाललाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी समेत रहेका भुषाल प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् । भुषालले बुधबार एक कार्यक्रमका बिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थशास्त्र र राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका भुषालले चीनको पेकीङ विश्वविद्यालयबाट अर्थशास्त्रमा बिद्यावारिधि गरेका छन् । अर्थ, योजना, बिकास र बित्त मामिलाका जानकार उनले बैदेशिक रोजगारी, युवा उद्यमशिलता र स्वरोजगारको क्षेत्रमा अध्ययन, अनुसन्धान र सहजीकरण गर्दै आएका छन् ।

गुल्मीबाट राजनीतिक यात्रा शुरु गरेका भुषाल हाल रुपन्देहीको तिलोत्तमा–१०, शान्तीनगरमा रहेर राजनीतिक र सामाजिक गतिविधीमा क्रियाशील रहदै आएका छन् । उनले बिभिन्न संघसंस्था संगको सहकार्यमा सो क्षेत्रमा सिपमूलक तालिम, कृषि उद्यम, युवा स्वरोजगार र उद्यमशिल कार्यक्रम समेत सञ्चालन गरेका छन् । गाँउ, टोलको बिकास र सामाजिक गतिविधीमा सकृय रहदै आएका भुषाल प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएपछि यस क्षेत्रका स्थानीय उत्साही भएका छन् । उनको नियुक्ती संगै प्रदेशको समग्र बिकास र योजनामा नयां आयाम थपिने अपेक्षा समेत गरिएको छ । खरो र हक्की स्वभावका भुषाल सरल, बौद्धिक, क्षमतावान् र प्रष्टबक्ताका रुपमा समेत परिचित छन् ।

को हुन डा. दामोदर भुषाल ?

बिद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका उनी नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. ३ का पूर्व क्षेत्रिय सभापति समेत हुन् । नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रहेका भुषालले संघको बिदेश बिभाग प्रमुखको रुपमा पनि काम गरे । काठमाण्डौं शिक्षा क्याम्पस स्वबियुका पूर्व सभापति रहेका उनले स्कुले जीवनबाटै राजनीतिक यात्रा शुरु गरेका थिए । आफ्ना पितासंगै राजनीतिमा होमिएका भुषाल २०४६ सालको जनआन्दोलनमा पितासंगै प्रहरी हिरासतमा परेका थिए । ०६२÷०६३ को जनआन्दोलनमा सकृय भूमिका निर्वाह गरेका उनी बिद्यार्थी राजनीतिका क्रममा समेत पटक–पटक प्रहरी हिरासत परेका थिए । उनका पिता सुरेशचन्द्र भुषाल नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति हुन् । भने हजुरबुवा उमानन्द भुषाल समेत राणा र पञ्चायतका बिरुद्ध लडेका थिए । पारिवारीक रुपमा राजनीतिक पृष्ठभूमिका भुषालले महेन्द्र रत्न क्याम्पस, ताहाचलबाट औपचारिक रुपमा बिद्यार्थी राजनीति शुरु गरेका थिए । जहां उनी नेपाल बिद्यार्थी संघको ईकाई सभापतिका रुपमा रहेर काम गरे ।

स्कुल अफ नेचुरल रिर्सोसेस् एण्ड वायो ईन्भारमेन्टका संस्थापक अध्यक्ष रहेका भुषाल स्वरोजगार र उद्यमशिलताका क्षेत्रमा काम गर्दै आएका छन् । कृषिको ब्यबसायीकरण, युवा उद्यमशीलता र महिला सशक्तिकरणका क्षेत्रमा अध्ययन अनुसन्धान र सहजीकरण गर्दै आएका उनले उद्यमशिलताको बिकासमा रेमिटान्सको प्रभाव बिषयमा सोध समेत गरेका छन् । यस्तै उनले जलबिद्युत् निर्माण र प्रर्बद्धनको क्षेत्रमा समेत काम गरेको अनुभव संगालेका छन् । उनी घरघरमा करेसाबारी अभियानका अभियन्ताका रुपमा समेत चिनिन्छन् ।

अध्ययन, अनुसन्धान र अवलोकनका क्रममा जर्मनी, बेल्जियम, नर्वे, हंगेरी, डेनमार्क, भारत, चिन, सिंगापुर, मलेसिया लगायतका मुलुकको भ्रमण गरिसकेका भुषालले त्यहांको बिकास निर्माणलाई समेत नजिकबाट नियालेका छन् । योजना आयोगमा आफ्नो भूमिकाका बिषयमा संक्षिप्त प्रतिक्रिया दिदै भुषालले युवा स्वरोजगार, उद्यमशिलता, औद्योगिकरण, कृषिको आधुनिकीकरण र ब्यबसायीकरणलाई बिशेष ध्यानमा राखेर योजना निर्माण गर्ने बताए ।

 
 
  
 

You may also like