म जाली तमसुक हेरेर बसें, ओलीले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एक ढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनले बताए ।

आज (शनिबार) पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी यात्राको तयारीको लागि कम्युनिष्ट पार्टीमा एकता गरिए पनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको बताए । उनले पहिलो पटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंसा पनि गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्विर : प्रदीपराज वन्त
अध्यक्ष प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको टिप्पणी बताएका छन् । अध्यक्ष प्रचण्डले ओलीको ठगी धन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताएका छन् । उनले भने, ‘हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगी धन्दाबारे थाहा पाइएन । तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।

आफूलाई हालै मात्र सत्तारुढ गठबन्धनको बैठकमा पनि केही नेताले केपी ओलीसँग एकता गरेर के पाउनु भयो ? भन्ने प्रश्न गरेको सुनाउँदै प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए । उनले थपे, ‘गठबन्धनमा केपीसँग एकता गरेर के पाउनु भयो भने, मैले ज्ञान प्राप्त गरेर आएँ भने । ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान कांग्रेसलाई, माधवजीलाई पनि काम लाग्ने ज्ञान हो भनें । वास्तवमा केपीको त ठगी धन्दा रहेछ ।

प्रतिगमनको अझै पनि खतरा रहेको भन्दै बेला–बेला जित्न लागेका बेला घन हान्ने गरिएको बताए । जित हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने बताए । उनले भने, ‘पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं । प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाई दियो । ड्याम्म घन हानको थाहै पाइएन ।’

‘संसद विघटनविरुद्ध उभिँदा सबैले जीवन मरणकै संघर्षका रुपमा लियौं । पटक–पटक लाखौं जनता सडकमा उतारियो । अरु दल पनि संविधान र लोकतन्त्रका विरुद्ध घात हो भनेर एकजुट हुनुभयो’ उनले भने । समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा युवाहरु जुट्नु पर्नेमा जोड दिँदै उनले अहिले वातावरण पनि रहेको बताए । ‘समाजवादी आन्दोलनलाई अघि बढाउन अहिले वातावरण छ’ उनले वाइसीएललाई भने, ‘हाम्रो आशा तपार्ईहरुमाथि छ ।’

 
 
  
 

You may also like