तालिबानले सयौं कैदीलाई गर्‍यो जेलमुक्त

by समतल अनलाइन

काबुल । अफगानिस्तानको एउटा कारागारबाट तालिबान लडाकूहरूले सयौं बन्दी कैदीहरूलाई जेलमुक्त गरिदिएका छन् ।
देशका प्रमुख शहरहरू कब्जा गर्ने क्रममा विद्रोही लडाकूहरूले देशको चारीकार कारागारबाट कैदीबन्दीलाई रिहा गरेका हुन् । कारागारमा थुनिएका आफ्ना लडाकूहरूसहित झण्डै ६०० जनालाई कारागारमुक्त गरिएको विद्रोहीहरूले जानकारी दिएका छन् ।

कारागार सुरक्षाको जिम्मेवारी लिएका उच्च पदाधिकारीहरूको लापरबाहीका कारण लडाकूहरूले सजिलै कैदीहरूलाई जेलमुक्त गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कारागारमा लागुऔषध कारोबार, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधिहरूलाई समेत राखिएको थियो । ‘विद्रोही लडाकूहरूले आक्रमण गरेको कारागारमा राखिएकामध्ये अधिकांश कैदी लागुऔषध कोरोबार, अपहरण, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधीहरू रहेका थिए’, जेल प्रशासन निर्देशक सफिउल्लाह जालाल्जैले भने ।

तालिबान विद्रोहीहरूले जेलमुक्त गराएका ६३० कैदीहरूमध्ये १३ जना महिला र तीन जना विदेशी रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । जेलमुक्त गरिएका कैदीहरूमध्ये १८० जना तालिबान लडाकू छन् । ‘उनीहरूमध्ये १५ जना नेतृत्व तहका लडाकू थिए, उनीहरूलाई अफगानिस्तान सरकारले आजीवन काराबासको सजाय तोकेको थियो’, एक अधिकारीले भने ।

तालिबान लडाकूहरूले यसअघि निम्रोज प्रान्तको जारान्ज सहरमा रहेको कारागारबाट ३५० जनालाई जेलमुक्त गरेका थिए । उनीहरूमध्ये ४० जना तालिबान लडाकू रहेका थिए । विद्रोही लडाकूहरूले अन्य ठाउँमा रहेका विभिन्न कारागारहरूबाट समेत सयौं कैदी / बन्दीहरूलाई जेलमुक्त गराएका छन् । एजेन्सी

 
 
  
 

You may also like