बिहानैदेखि देशका धेरै स्थानमा वर्षा, यी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं। मनसुनी वायुको प्रभावका कारण आज (शुक्रबार) विहानैदेखि देशका धेरै स्थानमा बर्षा भइरहेको मौसमविदले बताएका छन् । नेपालमा भोलि (शनिबार) देखि मनसुन थप सक्रिय भएर जाने मौसमविदले जानकारी दिएका छन् ।

आज विहान देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आजराति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–२, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद् निराजन सापकोटाको आग्रह छ ।

‘साउन २ गतेबाट ४ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ’, मौसमविद् निराजन सापकोटाले भने, ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ वागमती प्रदेशमा भने मंगलबारसम्म अहिले भइरहे जस्तै सामान्य वर्षाको सम्भावना रहेका मौसमविद् सापकोटाले बताएका छन् ।

 
 
  
 

You may also like