प्रचण्ड र विप्लवलाई माधव नेपालको सुझाव : पूर्व माओवादीहरु मिल्नुस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व माओवादीहरुलाई मिल्न सुझाव दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको भेटवार्तामा उनले पूर्व माओवादी मिल्नु पर्नेमा जोड दिएका हुन् ।

आज मात्रै नेता नेपालको कोटेश्वरस्थित निवासमा तीन नेताहरुबीच भेटवार्ता भएको हो । ‘उहाँले प्रचण्ड र विप्लवलाई मिल्न आग्रह गर्नु भयो । तपाईहरु पनि मिल्नुस् हामी पनि मिल्छौं भन्नुभयो । कम्युनिष्टहरुको एकतामा जोड दिनु भयो’, नेपाल निटक एक नेताले सुनाए ।

भेटवार्तामा सबै नेताहरुले कम्युनिष्ट एकताप्रति आफूहरु सकारात्मक रहेको बताएको जनाइएको छ । सोही क्रममा सरकारले विप्लव नेतृत्वको पार्टीसँग वार्ताका क्रममा गरेको तीन बुँदे सहमतिबारे समेत चर्चा भएको थियो । ओली नेतृत्वको सरकार ढलेपछि विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् । बुधबार मात्रै विप्लव प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

 
 
  
 

You may also like