काठमाडौं। आफूलाई सामाजिक अभियन्ता दावी गर्ने चार जना २३ दिनको हिरासत बसाइपछि आज (मंगलबार) छुटेका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमालप्रसाद उपाध्यायलाई कुनै मुद्दामा धरौटी र कुनैमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
उनीहरूविरुद्ध जिल्ला अदालतमा जातीय तथा सामाजिक विभेदसम्बन्धी कसुर, अभद्र व्यवहार र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । यस्तै ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि असार ६ गते जातीय तथा सामाजिक विभेद गरेको अभियोग छ ।
यो कसुरमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ कानुनी व्यवस्था छ । ज्वाला र उनका पति हिमालविरुद्ध प्रहरीले कीर्तेमा पनि मुद्दा चलाएको थियो । सरकारी कागजात कीर्ते गरेको अभियोग छ ।
कीर्ते कसुरमा ज्वालालाई साधारण तारेख र हिमाललाई एक लाख धरौटी माग भएको जिल्ला अदालतले जनाएको छ । उनीहरुले नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्तालगायतका कागजात कीर्ते गरेको अनुसन्धानमा देखिएको छ । अभद्र व्यहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन जनालाई जनही १० हजार रुपैयाँ धरौटी माग गरेको थियो । खड्का भने यो कसुरमा संलग्न थिएनन् ।